अन्तरवार्ता Source: ekantipur माओवादी अध्यक्ष पुष्पकमल दाहालका सामु अहिले पार्टीको विवाद मिलाउने, शान्ति प्रक्रियालाई टुंग्याउने र संविधान निर्माणको कामलाई गति दिने मुख्य जिम्मेवारी छ । यसलाई उनी कसरी अगाडि बढाउँदै छन् ? दाहालसँग आइतबार बिहान कान्तिपुरका सुधीर शर्मा र गंगा बीसीले नयाँबजार निवासमा लिएको अन्तरवार्ताको सम्पादित अंश: के अब माओवादी पार्टी फुट्ने चरणमा पुगेको हो ? होइन, पार्टी फुट्दैन । कतिपय सन्दर्भमा बहस अस्वाभाविक देखिएको छ, तर पार्टी फुट्दैन । तपाईंहरूको मोहन वैद्य पक्षसँग आधारभूत विषयमै कुरा नमिलेको देखिन्छ, यस्तो अवस्थामा पार्टी कसरी एक रहन्छ ? शान्ति र संविधानमा बढी जोड दिएर जाने कि अरू नै विषयमा जोड दिने भन्ने बहस -हामीबीच) छ । तात्कालिक विषयमा छलफल गर्दै जाँदा सिद्धान्त, रणनीतिका विषय पनि आकषिर्त भएका छन् । त्यति मात्रै हो । आधारभूत रूपमै फरक परिसक्यो भन्ने होइन ।