Skip to main content

'त्यसबेला बहुमतले कारबाही गर्ने कुरा आउँछ'


 अन्तरवार्ता


 Source: ekantipur

माओवादी अध्यक्ष पुष्पकमल दाहालका सामु अहिले पार्टीको विवाद मिलाउने, शान्ति प्रक्रियालाई टुंग्याउने र संविधान निर्माणको कामलाई गति दिने मुख्य जिम्मेवारी छ । यसलाई उनी कसरी अगाडि बढाउँदै छन् ? दाहालसँग आइतबार बिहान कान्तिपुरका सुधीर शर्मा र गंगा बीसीले नयाँबजार निवासमा लिएको अन्तरवार्ताको सम्पादित अंश:
के अब माओवादी पार्टी फुट्ने चरणमा पुगेको हो ?
होइन, पार्टी फुट्दैन । कतिपय सन्दर्भमा बहस अस्वाभाविक देखिएको छ, तर पार्टी फुट्दैन ।
तपाईंहरूको मोहन वैद्य पक्षसँग आधारभूत विषयमै कुरा नमिलेको देखिन्छ, यस्तो अवस्थामा पार्टी कसरी एक रहन्छ ?
शान्ति र संविधानमा बढी जोड दिएर जाने कि अरू नै विषयमा जोड दिने भन्ने बहस -हामीबीच) छ । तात्कालिक विषयमा छलफल गर्दै जाँदा सिद्धान्त, रणनीतिका विषय पनि आकषिर्त भएका छन् । त्यति मात्रै हो । आधारभूत रूपमै फरक परिसक्यो भन्ने होइन ।

यतिबेला माओवादीभित्र दुई पार्टीको जस्तो अवस्था छ नि ?
तात्कालिक कार्यनीतिमा बहस हुँदै जाँदा केही अस्वाभाविक रूपमा बहस तन्किएको छ । तर नेपाली क्रान्तिको आधारभूत विषयमा अन्तर भएको म ठान्दिनँ । बाहिरबाट हेर्दाखेरि समानान्तर प्रस्ताव, समानान्तर गतिविधि देखिएको छ, त्यसलाई अहिलेकै केन्द्रीय समिति बैठकबाट समाधान गर्ने गरी छलफल भइरहेको छ । अहिलेसम्म हेर्दा केन्द्रीय समिति बैठकको उल्लंघन मुख्य नेतृत्वले गर्‍यो भन्ने आधारमा किरणहरूले तर्क अगाडि सार्नुभएको छ । अब त केन्द्रीय समिति बैठक नै बसेको छ, यसको निर्णय सबैले पालना गर्नुपर्ने हुन्छ किनकि किरण -मोहन वैद्य) जीले पनि, मैले पनि -राजनीतिक प्रतिवेदनमा) लेखेको के हो भने अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता हो । जनवादी केन्द्रीयताको आधारभूत मान्यता यही हो, यसलाई नमान्ने भन्ने हामी कसैको छैन । यो बैठकले निर्णय गरेपछि त्यो कडाइका साथ लागू भएर जान्छ ।
तर बैठकमै दुइटा समानान्तर प्रस्ताव आएपछि यसबारे कुन विधिबाट निर्णय हुन्छ ?
जनवादी केन्द्रीयताको विधि भनेको बहुमतको निर्णय अल्पमतले कार्यान्वयन गरेर जाने भन्ने हो । अहिले स्थिति अलि जटिल भएको हुनाले त्यो विधि सहज ढंगले लागू हुने स्थिति छैन । त्यसकारण हामीले के भनेका छौं भने तुरुन्तै भिन्न मतको स्थिति पनि तलसम्म लैजानुपर्छ । कमिटीहरूमा 'फोरम' सुरु गरिदिने, त्यसो गर्दा फरक विचार त सुरक्षित रह्यो नि । तर बाहिर काम गर्दा पार्टीको जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने हुन्छ । कामकारबाहीमा एकरूपता गरेर जाने प्रतिबद्धता भयो भने केही विषयबारे बाहिर पनि सैद्धान्तिक बहस गर्न सकिन्छ । केही खास-खास बहस बाहिर गर्दा पनि बिगि्रँदैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा लेनिनकै पालादेखि कयौं विषयमा बाहिर बहस भएका छन् ।
यदि अहिले जारी केन्द्रीय समिति बैठकको निर्णय नमान्ने कुरा आयो भने ?
यदि त्यस्तो भयो भने पार्टीमा एकै ठाउँमा रहने आधार सकिन्छ । त्यसबेला भिन्न मतले या त विद्रोह गर्ने कुरा आउँछ या बहुमतवालाले कारबाही गर्ने कुरा आउँछ । तर अहिले हाम्रो पार्टीको स्थिति त्यो छैन । पार्टी टुट्दैन । कमसेकम केही समय यो पार्टी एकताबद्ध रहन्छ । मलाई के विश्वास छ भने केन्द्रीय समितिको विधि र प्रक्रियामा हामी एकमत हुन्छौं ।
तपाईंले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावविरुद्ध वैद्यले जवाफी प्रस्ताव ल्याउनुभयो । दुवै प्रस्ताव हेर्दा मिलनबिन्दु भेट्न त गाह्रो देखिन्छ नि ?
हो, दुइटा प्रस्ताव बैठकमा आएका छन् । दुवै प्रस्तावले आफ्ना धारणाको व्याख्या दुईतिर गरेका छन् । तर फेरि पनि तत्काल के गर्नुपर्छ भन्नेमा हाम्रो एउटै प्रस्ताव छ । अहिले गर्ने काम, प्रशिक्षण, भेलालगायतमा दुवैको प्रस्ताव एउटै छ । सिद्धान्त र भोलि के हुनुपर्छ भन्ने हेर्दा 'ओहो, यिनीहरू कसरी सँगै बस्लान्' भन्ने देखिन्छ । तर अहिले गर्ने काम के हो भनेर हेर्दा एउटै छ । किरणजीहरूले पनि शान्ति र संविधानको विरोध गर्नुभएको छैन । शान्ति र संविधान अघि बढाउँदा बढी छाडियो भन्नेमा उहाँहरूको चासो छ । त्यसकारण बाहिरबाट हेर्दा स्थिति गम्भीर लाग्छ, तर छलफल हेर्दा सँगै जाने आधार छ ।
वैद्यहरूले संविधानसभाको औचित्य समाप्त भइसकेको, तपाईंहरू 'दक्षिणपन्थी अवसरवादी’ बन्नुभएको बताइरहँदा कुरा कसरी मिल्ला ?
उहाँहरूले 'अब संविधानसभा छाड्छौं, काम छैन' भन्दै संविधानसभाको औचित्य साँच्चै सकियो भन्ने हो भने संविधानसभा छोड्नुपर्‍यो । आजैबाट संविधानसभा छाडिदिने, शान्ति प्रक्रियाबाट अलग्गिने, यसरी प्रतिरोध कार्यक्रममा जाने भनेको भए त एउटा पार्टीमा दुइटा आचरण भयो भन्ने हुन्थ्यो । बस्ने ठाउँ छैन भन्न सकिन्थ्यो । उहाँहरूले शान्ति र संविधानसभा छोड्ने कुरा गर्नुभएको छैन, प्रतिवेदनमा त्यहाँ जेसुकै लेखे पनि ।
तपाईं र वैद्यबीचको व्यक्तिगत तुसले पनि विवाद बढाएको हो ?
मुख्य त्यो होइन । किरणजीसँग ३० वर्षदेखि सँगै छु । म पार्टीको प्रमुख पदमा आएको पनि २३ वर्ष भयो । किरणजीसँग खुलेरै छलफल हुन्छ । अहिलेको परिस्थितिलाई कसरी बुझ्ने भन्ने विषयमा हामीबीच दृष्टिकोणमा अन्तर आएको हो । क्रान्तिलाई कसरी अगाडि लैजाने भन्ने सोचाइमा फरक परेको हो । मैले उहाँलाई वा उहाँले मलाई महत्त्व नदिएको विवाद होइन । त्यो कतै मनको कुनामा हुन पनि सक्छ । तर त्यसको निर्णायक भूमिका छैन । यो फरक अहिले मात्र आएको होइन । जनयुद्ध सुरु हुनुअघि र बीचमा पनि यस्ता बहस हुन्थे ।
हाल वैद्यजीसँग नजिक हुनुभएका महासचिव रामबहादुर थापाका टिप्पणी हेर्दा व्यक्तिगत कटुता बढ्दै गएको देखिन्छ नि ?
बादल वा किरणजीसँग विगतका कतिपय बहस योभन्दा चर्को कटुतामा पनि पुगेका थिए । एक, दुई दिन होइन, वर्षौं त्यस्तो अवस्थाबाट गुज्रेका पनि छौं । पहिले पार्टी भूमिगत र सानो हुन्थ्यो । त्यसबेला बाहिरी दुनियाँलाई मतलब हुँदैनथ्यो । अहिले -माओवादी) देशकै सबभन्दा ठूलो पार्टी भयो । अहिले संसारको ठूलो ध्यान भएको हुनाले किरण, बादल, मैले के खान्छु भन्ने पनि थाहा हुन्छ । मेरा लागि अन्तरसंघर्ष दूधभातजस्तो भइसकेको छ ।
अर्को पाटो के हो भने पहिले रातोपिरो भएर बहस गर्दा पनि बाहिरको शक्तिले चलखेल गर्ने ठाउँ पाउँदैनथ्यो । पार्टीभित्र 'प्ले' गर्ने उनीहरूको सम्भावना सीमित हुन्थ्यो । हामी अन्ततः मिलाइहाल्थ्यौं । अहिले फरक के भएको छ भने पूरै संसार माओवादीमा लागेको छ । अमेरिका, भारत, चीनलगायत सबै देशका राजदूतले भेट्नासाथ पार्टीमा के हुन्छ भनेर सोध्छन् । यो उनीहरूको धर्मभित्र पर्छ । देशभित्र कांग्रेस, एमाले र राजावादीहरूले हामीभित्र विग्रह पैदा गर्न सक्दा आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने ठानेका छन् । माओवादीलाई कुनै तरिकाले फुटाउन सके गुमेको स्वर्ग फिर्ता गर्न सकिन्छ भन्ने एकथरीलाई लागेको होला । त्यसैले यही बेला खेलेका छन् ।
पहिले हामी आफैं विवाद मिलाउन सक्थ्यांै । अहिले पार्टीमा -बाहिरियाले) खेलेका हुनाले स्वनिर्णयको अधिकार कम हुँदै गएजस्तो लाग्छ । अहिले सूचना साम्राज्यले पनि गर्नु गरेको छ । पत्रपत्रिकामा बिल्कुल झूटो खबर आयो भने पनि भयो होला भन्ने लाग्छ । अस्ति भर्खरै मैले बादलजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरें भन्न्ने आयो । पार्टीभित्र त्यसले ठूलो तरंग ल्यायो । जब कि यो प्रसंग अहिले चलेको होइन । बादलजीमा पनि त्यो चाहना छैन जस्तो लाग्छ । त्यस्ता समाचार कसरी बन्छन्, कसले बनाउँछ, किन बनाउँछ भन्ने बुझ्नुपर्दोरहेछ । हामी बिस्तारै सिक्दै छौं । सबै नेतालाई 'प्ले' भइरहेका छौं भन्ने महसुस हुन थालेको छ ।
म २३ वर्ष पार्टीको नेतृत्वमा छँदा अहिलेको भन्दा चर्का संघर्ष भएका छन् । हामीले नेताहरूलाई कारबाही पनि गरेका छौं र हामी मिलेका पनि छौं ।
अहिले संस्थापन पक्ष कारबाही गर्न नसक्ने, वैद्यजीहरूले कारबाही भए हुन्थ्यो भन्ने चाहेजस्तो देखिन्छ, त्यस्तै हो ?
त्यस्तो मात्रै होइन । उहाँहरू पनि पार्टी छोड्न चाहनुहुन्न, हामी पनि फुटोस् भन्ने चाहँदैनौं । जनवादी केन्द्रीयताको सिद्धान्तभन्दा हामी बाहिर गएका छौं । जनवादी केन्द्रीयताको सिद्धान्त विचारमा फरक भए पनि काममा एकरूपता हुनुपथ्र्यो । काममा एक नहुनेलाई कारबाही नगर्नु पनि जनवादी केन्द्रीयता पालना नगर्नु हो । संस्थापन पक्षले काममा एकरूप नहुने, आफूलाई जे मन लाग्यो त्यही गर्नेलाई कारबाही गर्नुपर्ने हो नि । होइन, विचार, लाइन र नेतृत्व पनि मन पर्दैन भने, अध्यक्ष नै दलाल भइसक्यो भन्ने हो भने त सँगै बैठक बस्न पनि हुँदैन । दलाल, आत्मसमर्पण गरिसकेकासँग सँगै बस्न हुन्छ त ? उहाँहरूले जनवादी केन्द्रीयताको झनै पालना गर्नुभएन । उहाँहरूले विद्रोह गर्न नसक्ने, संस्थापन पक्षले कारबाही गर्न नसक्ने भए पनि यहीं कतै मिलनबिन्दु छ ।
उपाध्यक्ष वैद्यले संविधान निर्माणका विवादित विषय सुल्झाउन तपाईंको नेतृत्वमा रहेको उपसिमितिले गरेका सहमति उल्ट्याउने बताउनुभएको छ नि ?
किरणजीले कुन भावमा भन्नुभयो, मैले आफैंले सुनेको छैन । विवाद समाधन उपसमितिले टुंग्याएका विषय सहमतिकै रूपमा संवैधानिक समितिमा प्रस्तुत भइसकेका छन् । अस्ति मैले उपसमितिको संयोजकका हैसियतले अन्तिम प्रतिवेदन प्रस्तुत गरें । सहमति भएका विषय सहमतिका रूपमा, नजिक पुगेका विषय त्यही रूपमा र सहमति हुन नसकेका विषय पनि त्यसै रूपमा पेशस भइसकेका छन् । मेरो दृष्टिमा किरणजीलाई सूचनाको कमी भएको छ । उहाँलाई अध्यक्षले सबै छाड्यो भनेर भनिएको छ । अहिले केन्द्रीय समिति बैठकमा पनि कुरा भइरहेको छ ।
राज्य पुनःसंरचना आयोग बनेको छ, त्यसको प्रतिवेदन नआई त्यसमा प्रवेश गरेका छैनौं । शासकीय स्वरूप टुंगिएको छैन । आज मैले पत्रिकामा पढें- सहमति भइसक्यो, त्यो गलत कुरा हो । सहमति भइसकेको छैन । उपसमितिमा कार्यदलले रिपोर्ट पेस गरेको छ, त्यसले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार यस्तो हुनुपर्छ भन्ने सुझावचाहिं प्रस्तुत गरेको छ । त्यसमा राष्ट्रपतिलाई 'सेरेमोनियल' बनाइएको छ । त्यसमा राष्ट्रपति प्रत्यक्ष चुनिनुपर्ने भनिएको छ । संसद्बाट चुनिएकालाई बढी र जनताबाट चुनिएको राष्ट्रपतिलाई कम अधिकार दिने प्रजातान्त्रिक मूल्यमान्यताअनुसार मिल्दैन । जनताबाट चुनिएको व्यक्ति कार्यकारी हुनुपर्‍यो, संसद्बाट चुनिएकोलाई निश्चित अधिकार दिनुपर्‍यो- त्यसरी मात्र सहमति हुने देख्छु ।
किरणजीले विवाद समाधान उपसमितिमा भएका सहमति उल्ट्याइन्छ भन्ने कुरा गरेर संघर्षको रूपमा दबाब दिन खोज्नुभएको होला । केन्द्रीय समितिमा छलफल गर्दै गएपछि सहमतिमा पुग्छौं । हामीले गरेको सहमतिमा उहाँ पनि सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।
प्रत्यक्ष चुनिने राष्ट्रपतिलाई केके अधिकार चाहिन्छ भन्ने लागेको छ ?
प्रथमतः, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्‍यो । देशभित्र र विदेश नीतिसम्बन्धी कामकाजबारे अन्तिम निर्णय गर्ने अधिकार राष्ट्रपतिमा हुनुपर्‍यो । दैनिक प्रशासनिक काम गर्ने अधिकार प्रधानमन्त्रीलाई हुनुपर्‍यो । अहिले पनि त राष्ट्रपतिलाई धेरै अधिकार छ नि सेनाको परमाधिपतिलगायत । त्यही कुरा जनताबाट प्रत्यक्ष चुनिएको राष्ट्रपतिलाई हुनु हुँदैन ?
यी विषयमा कहिले सहमति हुन्छ ?
राष्ट्रपति र प्रधानमन्त्री दुवै राख्ने सहमति भइसकेको छ । तर, अधिकारको बाँडफाँडमा सन्तुलन मिलेको छैन । छलफल भएपछि मिल्न नसक्ने मैले देखेको छैन ।
मिश्रित निर्वाचन प्रणालीमा जाने सहमतिचाहिं भएको हो ?
निर्वाचन प्रणाली समानुपातिक र प्रत्यक्ष हुने तर प्रत्यक्ष र समानुपातिकमा पनि समानुपातिक र समावेशी सिद्धान्त अपनाउने सहमति भएको छ । बाँकी कति प्रतिशत समानुपातिक र प्रत्यक्ष भन्ने र मजदुर, किसानको प्रतिनिधित्व कसरी गराउने, जातीय प्रतिनिधित्व कति गराउने भन्ने विषयमा सहमति हुन बाँकी छ ।
जेठ १४ भित्र संविधान निर्माण होला ?
त्यो अवधिमा संविधान निर्माण गर्नैपर्ने अवस्था छ । नेपालको अहिलेको राजनीतिक अवस्था हेर्दा, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा जे कुरा चलेको छ र जनतामा पनि जुन धारणा छ, त्यसलाई हेर्दा कुनै पनि हालतमा पाँच महिनाभित्र संविधान निर्माण गर्नुपर्छ ।
सर्वोच्च अदालतले संविधानसभाको म्यादबारे गरेको निर्णयलाई कसरी लिनुभएको छ ?
मैले सुरुमा पनि भनेको थिएँ- सर्वोच्चले के भन्यो, के भनेन त्यो त्यति सरोकारको विषय अहिले होइन । त्यतापट्टि दिमाग खराब गर्नुभन्दा जनताको फैसला के छ भनेर हेर्नु ठीक हुन्छ । जनता अधैर्य हुने अवस्थातर्फ हामीले ध्यान दिनुपर्छ । जनताको अदालत नै सर्वोपरि हो । अरू अदालतका कुरा आफ्नो ठाउँमा हुँदै गर्छन् । हामीले 'सर्वोच्चले भनेको छ, त्यसकारण गर्नुपर्छ' भन्नुभन्दा 'जनताले भनेका छन् त्यसकारण गर्नुपर्छ' भनेर काम टुंग्याउनुपर्छ ।
संघीयतालगायतका विषयमा पनि यही अवधिमा सहमति होला ?
राज्य पुनःसंरचना आयोगले दुई महिनाभित्र सुझाव दियो भने समझदारी हुने सम्भावना छ । दृढइच्छाशक्तिका साथ अघि बढ्दा टुंगिँदैन भन्ने मलाई लाग्दैन । संघीयता हामीले मानेकै छौं । 'मोडालिटी' को विवादबारे आयोगको प्रतिवेदन आएपछि सुल्झाउन पक्कै पनि मद्दत गर्छ । पाँच महिनाभित्र संविधान बनाउन किन जरुरी छ भने कतिपय विषय हामीले पछिलाई पनि थाती राख्न सक्छौं । त्यसरी पनि संविधान घोषणा हुन सक्छ । केही जटिल विषय रहे जनताबाट फैसला लिन पनि सकिन्छ, फेरि चुनावबाट, निर्वाचित प्रतिनिधिसभाबाट टुंग्याउन पनि सकिन्छ । राज्य पुनःसंरचनासँग सम्बन्धित या अरू न्याय प्रणालीसँग सम्बन्धित, संघीय अदालतलगायतका विषय नमिले टुंग्याउन सकिन्छ ।
नमिलेका विषयलाई जनमत संग्रहमा लैजाने भन्ने विषयमा छलफल भएको हो ?
राजनीतिक दलहरूबीच त्यस्तो छलफल भएको छैन । अनौपचारिक रूपमा बाहिर भने छलफल भएका छन् । राज्य पुनःसंरचनालाई पछाडि लैजान अहिले सोच्नु हुँदैन । पुनःसंरचना आयोगको प्रतिवेदन आएपछि -त्यसलाई) टुंग्याउन सकिन्छ भन्ने लागेको छ ।
कांग्रेस र एमालेसँग तपाईंहरूको आधारभूत रूपमा केके विषयमा मतभेद हो र त्यो कसरी मिल्छ जस्तो लाग्छ ?
राज्य पुनःसंरचनाका लागि संघीयताको आधार केलाई मान्ने ? सामथ्र्य र पहिचानका आधारमा हुनुपर्छ भनिएको छ । पहिचानलाई मुख्य भनिएको छ । हाम्रो बुझाइ के छ भने जातीय, भाषिक, क्षेत्रीय उत्पीडनलाई अन्त्य गर्ने हिसाबले जानुपर्छ । कांग्रेस, एमाले संस्थापन पक्षको सोचाइ भने जातीय उत्पीडन अन्त्य गर्ने वा आत्मनिर्णयको अधिकार दिनु हुँदैन भन्ने छ । हामी आत्मनिर्णयको अधिकार स्वीकार गर्नुपर्छ भन्नेमा छांै । जातीय र क्षेत्रीय उत्पीडन अन्त्य गर्ने गरी जानुपर्छ भन्नेमा हामी दृढ छौं । यसमा सम्झौता गर्ने पक्षमा हामी छैनौं । एउटा जटिलता त्यहाँ छ । कांग्रेस, एमालेले के बुझ्न जरुरी छ भने सयौं वर्षदेखि नेपालमा उत्पीडन, जाति, क्षेत्र र लिंगलाई भेदभाव भयो, त्यसको अन्त्य गरे मात्र नयाँ नेपाल बन्न सक्छ ।
अर्को, शासकीय स्वरूपमा पनि छलफल भइरहेको छ । राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउनु भनेको संसदीय प्रणालीलाई नमानेको हुन्छ । यो गर्दा हामी 'वेस्ट मिन्स्टेरियल सिस्टम' भन्दा अगाडि जान्छौं । नेपालमा स्थिरता होस्, एकपटक निर्वाचन भएपछि पाँच वर्ष विकास निर्माणको काम अगाडि बढ्न सकोस् भन्न पनि राष्ट्रपतीय पद्धति आवश्यक छ । अहिले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने भनेको वेस्ट मिन्स्टेरियल प्रणालीलाई घुमाइफिराई ल्याउने भन्ने आशय छ । यो पनि गम्भीर मुद्दा हो । हामी ऐतिहासिक प्रक्रियाबाट आएका हौं, यो परिवर्तनलाई कांग्रेस र एमालेले स्वीकार गर्नुपर्छ । जनताको चाहना पुरानो -व्यवस्था) दोहोर्‍याउने भन्ने होइन । यसैगरी मजदुर, गरिब, किसानको प्रतिनिधित्व कसरी गराउने भन्ने विषय पनि गम्भीर छ । कांग्रेस, एमालेले अस्वीकार गरे, परिस्थिति अप्ठ्यारो हुन सक्छ ।
मिल्ने तरिका पनि त होलान् नि ?
राष्ट्रपति र प्रधानमन्त्री दुवै राखौं भन्ने सहमति भयो । अधिकारबारे छलफल भइरहेको छ । यो मिल्ने तरिका हो । छलफल गर्दै जाँदा राज्य पुनःसंचरनामा पनि सहमति हुन्छ भन्ने लागेको छ ।
शान्ति प्रक्रिया कसरी अघि बढ्छ ?
भर्खरै प्रधानमन्त्री, विशेष समिति सदस्य वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मासँग सल्लाह भयो । स्वैच्छिक अवकाशमा जानेहरूका लागि कार्ययोजना अन्तिम रूप दिएर जाऔं, केन्द्रीय समिति बैठक टुंग्याएर शान्ति प्रक्रिया अघि बढाऔं भन्ने लागेको छ ।
समायोजनमा जाने लडाकुको संख्या कसरी मिलाउनुहुन्छ ?
६ हजार ५ सयलाई समायोजन गर्ने हाम्रो सहमति भइसकेको छ । यसलाई उल्ट्याउने मेरो भनाइ छैन । संख्या समाधान गर्न पार्टीहरू सहमत हुँदा एकाध हजार थप्न सकिन्छ । त्यसमा पनि सहमति भएन भने मेरो बढाउने जोड छैन । साथीहरूलाई स्वैच्छिक अवकाश र पुनःस्थापनामा जान सम्झाउन सकिन्छ ।
पार्टी विवादले शान्ति प्रक्रिया रोकिएजस्तो तपाईंलाई लाग्दैन ?
त्यही कारणले रोकिएको होइन । सात बुँदेपछि लडाकुको पुनःवर्गीकरण भयो, संविधान निर्माण काम अघि बढेको छ । त्यतिबेला किरणजीको विरोधका बाबजुद प्रक्रिया अगाडि बढ्यो । अब पनि यो प्रक्रिया अगाडि बढ्छ, रोकिँदैन । स्वैच्छिक अवकाशमा जाने जनसेनाको काम १२ दिनमा सक्ने कार्ययोजनामा सहमति भइसक्या छ । यो दुई, चार दिनमा अघि बढ्छ ।
समायोजनमा जानेहरूको दुई, चारवटा कुरा टुंगिएका छैनन् । खासगरी कुन दर्जामा जनसेनाका कमान्डर हुने हो, कुरा टुंगिएको छैन । हामीले सिद्धान्ततः दुवै सेनाको मान्यता एउटै बनाएर जाने भन्यांै साथसाथै ६ हजार ५ सय जना समायोजनमा जाने भइसकेपछि त्यसको अनुगमन गर्न संयन्त्र आवश्यक पर्छ । यसमा छलफल बाँकी छ ।
जनमुक्ति सेनाको शिक्षाबारे पनि कुरा मिलेको छैन । शान्ति सम्झौता हुँदा जनमुक्ति सेनाको एउटा अवस्था थियो, शिविरमा बस्दाबस्दै धेरैले एसएलसी पास गरे, आइए र बीए गरे । भर्ती हुँदाको शिक्षालाई मान्यता दिने कि अहिलेकोलाई भन्नेमा विवाद छ ।
अर्को समायोजनमा जानेलाई कस्तो बि्रज कोर्स दिने भन्ने विषयमा टुंगो लागेको छैन । बि्रज कोर्स भनेको भर्ती भएकालाई जस्तो तालिम दिने होइन । समायोजनको तालिम छोटो हुनुपर्छ भन्नेमा छलफल छ  । जनमुक्ति सेनाका साथीहरूको भनाइ के छ भने महानिर्देशनालय हुने भएपछि त्यसको मुख्यालयमा हाम्रो पनि प्रतिनिधित्व हुनुपर्‍यो भन्ने छ । त्यसो भएन भने हाम्रो समायोजन भएको हो कि भर्ती भन्ने कुरा साथीहरूले गरे । मलाई अप्ठ्यारो परेको कहाँ हो भने त्यसो नभए हामी सबै स्वैच्छिक अवकाशमा गइदिन्छौं भन्नुहुन्छ कमान्डरहरू ।
अर्को एउटा कुरा पनि टुंग्याउन बाँकी छ । महानिर्देशनालयको कुरा टुग्याउँदाखेरि नेपाली सेनाले सुझाबका रूपमा दिएको प्रस्तावमा ३५-३५ प्रतिशत नेपाली सेना र जनमुक्ति सेनाबाट, ३० प्रतिशत प्रहरीबाट ल्याउने भनिएको छ । हामीले त्यसलाई स्वीकार गरेको हो । त्यसमध्ये प्रहरीबाट ३० प्रतिशत आउने कुरा टुंग्याउन बाँकी छ । यी कुराले शान्ति प्रक्रिया रोकिएको हो । हाम्रो पार्टीमा जतिसुकै मतभेद भए पनि किरणजीले -यो प्रक्रिया) अवरुद्ध गर्नुहुन्न जस्तो लाग्छ ।
शान्ति र संविधान मुख्य कार्यदिशा भएको तपाईंको दस्तावेज केन्द्रीय समितिबाट कसरी पारित हुन्छ ?
एउटा सम्भावना, विवादित नमिलेका कुरा झिकेर मिलेका विषयको एउटै दस्तावेज बनाउन सकिन्छ । विवाद फोरममा लैजाने हुन सक्छ । समाजवाद, साम्यवाद, माओवादजस्ता कुरामा विवाद छैन । कार्यक्रमहरूमा एकरूपता नै छ । अर्को, बहुमतबाट पारित गरेर अर्कोलाई भिन्न मतको प्रस्ताव बनाउन सकिन्छ । अहिले त्यो विषयमा केही नगरी दुवै विषय थाती राखेर कार्यक्रम मात्र लिएर जाने पनि हुन सक्छ । विविध सम्भावना छन् । केन्द्रीय सदस्यले बोलेपछि के छ, स्थिति थाहा भइहाल्छ । सबै स्थिति हेरेपछि केन्द्रीय कार्यालयको बैठक बसेर टुंग्याउँछौं ।
अब राष्ट्रिय सरकार कहिले र कसको नेतृत्वमा बन्छ ?
राष्ट्रिय सहमतिको सरकार अविलम्ब बनाउने हामो सहमति भएको हो । हाम्रो भनाइ यही माओवादी नेतृत्वको सरकारमा अहिले नै सबै आउने र राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने छ । कांग्रेस यही सरकारमा आउन चाहँदैन भन्ने पनि छैन । शान्ति प्रक्रिया अलि अगाडि बढ्यो भने हामी बाबुरामजीको नेतृत्वको सरकारमा सामेल हुन्छौं भन्ने कांग्रेसको भनाइ छ । शान्ति प्रक्रिया रोकियो भने तत्काल सरकारमा नआउने र एकाध महिना बाबुरामजीकै नेतृत्वमा शान्ति र संविधान अघि बढोस् भन्ने उसको चाहना छ । एमालेको चाहना तुरुन्तै बाबुरामजीको सरकार हटाउनुपर्‍यो भन्ने छ । हाम्रै कतिपय कमरेडहरूको सरकारबाट फिर्ता आउनुपर्‍यो वा राजीनामा दिनुपर्‍यो भन्ने छ । यो स्थितिमा बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने सम्भावना बढी देख्छु । जताबाट नाप्दा पनि बाबुरामजी हटेर राष्ट्रिय सरकार सम्भव देख्दिनँ ।
बाबुरामजीकै नेतृत्वको सरकारमा कांग्रेस, एमाले आउनुपर्छ भन्ने मेरो धारणा छ । तर अर्को कुनैको नेतृत्वमा सहमति हुन्छ भने सहमतिको बाधक हुन माओवादी चाहँदैन । सबैको सहमति भयो भने बाबुरामजी पनि टाँसिइरहन चाहनुहुन्न । तर, शान्ति प्रक्रिया अघि बढेपछि कांग्रेस, एमाले सरकारमा आउने, माओवादीकै नेतृत्वमा शान्ति र संविधान टुंग्याउने त्यसपछि आलोपालोअनुसार कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने सम्भावना नै अहिले छ । मेरो विचारमा यही नै सही छ ।
'जनविद्रोह' बारे दाहाल
अब तपाईं जनविद्रोहको कार्यदिशामा र्फकने सम्भावना छैन ?
यदि प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीले षड्यन्त्र गरे, जनताका उपलब्धिको अपहरण हुने अवस्था आयो भने जनविद्रोहको विकल्प रहँदैन । म जनविद्रोहको विरोधी भएँ भन्ने कुरा होइन, बाबुरामजी पनि जनविद्रोहको विरोधी हुनुभयो भन्ने कुरा होइन । अहिले मुख्य कुरा के हो भन्नेमा फरक परेको हो । अहिले चाहिं शान्ति र सविधान टुंग्याउन लाग्नुपर्छ, संघर्ष त्यतातिर केन्दि्रत हुनुपर्छ भन्ने हो । प्राप्त उपलब्धिलाई संस्थागत गरेपछि त्यहाँ टेकेर अघि जानु ठिक हो कि यो परिवर्तन नै ठूलो कुरा होइन भन्ने विवाद हो ।
संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त हुनुमा जनयुद्धको महत्त्वपूर्ण भूमिका छ, यसलाई दह्रो पार्ने जिम्मेवारी माओवादीकै हो भन्ने एउटा पक्ष छ । अर्को, यो प्रतिक्रियावादी व्यवस्थामा अलिकति सुधार भएको हो, यसलाई ध्वंस गर्न लाग्नुपर्छ भन्ने प्रवृत्ति छ । मैले प्रस्तावमा के भनेको छु भने गत वैशाखअघिसम्म विभिन्न षड्यन्त्र भए, त्यसैले संविधानसभा नहुने हो भने विद्रोहको तयारी गर्नुपर्छ भन्ने मेरो धारणा थियो । त्यसपछि शान्ति र संविधान टुंग्याउन केन्दि्रत हुनुपर्छ भन्ने छ । अब शान्ति र संविधानमै केन्दि्रत हुनुपर्छ भन्ने हो ।
माओवादीले आफ्नो कुरा नछाडीकन बाहिरको विशाल जनताको अपेक्षालाई पनि सम्बोधन गर्नैपर्छ । त्यो ऐतिहासिक जिम्मेवारीमा हामी छौं । लाखौं जनताले माओवादीले नै शान्ति र संविधान टुंग्याओस् भन्ने चाहेका छन् । म आफैं प्रचण्ड पनि शान्ति सम्झौताको दोस्रो हस्ताक्षरकर्ता हुँ, यतिबेला अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला हुनुहुन्न । यो शान्ति प्रक्रिया लावारिस हुने त होइन ? देश अराजकतामा जाने चिन्ता सर्वत्र छ । यो चिन्ता कसले सम्बोधन गर्ने त ? पार्टीका हिसाबले माओवादीले गर्नुपर्छ, नेतृत्वका हिसाबले प्रचण्डले गर्नुपर्छ भन्ने गहिरो बोध छ । त्यसो गरिएन भने जुन ऐतिहासिक अवसर छ, नेपाल बनाउने अवसरबाट हामी चुक्छौं । जनवादी क्रान्ति, समाजवाद र साम्यवादतर्फ जानेमा मेरो द्विविधा छैन, तर शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गरेर मात्र अगाडि जान सकिन्छ ।
कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन हो । विश्वमा कम्युनिस्ट आन्दोलनको अवस्था के छ भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ । सीधा-सीधा क्रान्ति गर्छ भन्दा के भयो ? बर्मा, मलाया, टर्की, पेरुमा के भयो ? दुनियाँमा के भयो भन्ने थाहा छ । विश्व शक्तिसन्तुलन कहाँ छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ । अलिकति वस्तुवादी हुन सकेनांै, मनोगत आकांक्षाले क्रान्तिकारी हुन खोज्यौं भने स्थिति दर्दनाक हुन्छ । त्यो माक्र्सवाद होइन । कहिले धेरै पछि हट्नुपर्ने अवस्था आउन सक्छ । त्यो पनि माक्र्सवाद हो । आजको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा हामीले त्यत्रो त्याग र बलिदान गरेर ल्याएको शान्ति, संविधानसभा हो । यसलाई सफल पार्न अन्तिम समयसम्म जानुपर्छ । त्यसको अर्थ हामीले आत्मसमर्पण गर्नुपर्छ, कसैको दलाली गर्नुपर्छ भन्ने बिल्कुल होइन ।
तर माओवादीले जोड गर्दैमा सबै कुरा भइहाल्छ भन्ने छैन । माओवादीको जिम्मेवारी ठूलो छ, अध्यक्षका हैसियतले मेरो पनि जिम्मेवारी छ । आफ्नो हिस्साअनुसार सबै जिम्मेवार हुनुपर्छ । 'प्रचण्डले मात्र गर्नुपर्छ, उसकै टाउकामा जिम्मा छ' भन्दा मलाई कहिलेकाहीं बढी भयो भन्ने लाग्छ । सबैतिर प्रचण्डले गरे हुन्छ, अरूले गरेर हुँदैन भनेर जनतामा प्रचार गरिदिने अनि गर्न पनि नदिने भयो भने भोलि प्रचण्डले गर्दा भएन भन्ने र प्रचण्डलाई सदा इतिहासबाट फाल्दिने त होइन भन्ने मनमा प्रश्न आउँछ । प्रचण्डप्रति जनताको यति धेरै अपेक्षा बढाइयो कि अपेक्षा पूरा भएन भने घृणा जाग्न सक्छ ।
तपाईंले जनविद्रोह गर्न सकिएन भन्नुभएको छ, किन होला ?
हाम्रा आफ्नै कतिपय कमजोरीका कारण त्यसलाई अगाडि बढाउन सकिएन । अर्काेतर्फ, जनताले माओवादीले शान्ति र संविधान अघि बढाइदेओस् भन्ने चाहेको देखियो । माओवादी जननीतिमा चल्छ । हामीले जनविद्रोह गर्न खोजेर पनि त सकिएन नि । पहिलो कुरा, पार्टीलाई एकढिक्का बनाउन सकेनौं । अहिले मात्र होइन, खरिपाटी बैठकदेखि पार्टीमा गुटबन्दी, अराजकता, अविश्वास, आशंका एकअर्काप्रति देखियो । ठूलो ऐतिहासिक कर्म गर्न नेतृत्व एक हुनैपर्छ । हामी एक हुन सकेनौं । जनयुद्धका बेला लाखौं कार्यकर्ता 'होलटाइमर' भए । शान्ति प्रक्रियापछि हजारौं कार्यकर्तालाई सन्तुष्ट राख्न सकेनौं, योजनामा ढालेर । सबैलाई समेट्ने कार्यक्रम बनाउन सकेनौं । वस्तुगत र आत्मगत रूपले नै हामीले धेरै मिहिनेत गरी शान्ति र संविधानको नेतृत्व माओवादीले गरोस् भन्ने बनाएका हौं । जिम्मेवारी दिएका बेला अन्त जान मिल्दोरहेनछ ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.