विनोद सिजापति/नागरिकबाट हालै पारिवारिक कारणले दिल्ली हुँदै सडक मार्गबाट सिमला जाने सौभाग्य मिल्यो। काङ्गडा पुग्दा मन ढुक्क भयो। गौरव लाग्यो पुर्खाहरू कसरी त्यति पर पुगेर नेपाली झण्डा गाढ्न सफल भएका थिए। स्वर्गीय गुप्त सेन सरले ल्याबोरेटरी स्कुलमा गाउन लगाउने गीत 'गाउँछ गीत नेपाली...' पश्चिम किल्ला काङ्गडा पूर्वमा तिष्टा पुगेको झलझली सम्झना आउने नै भयो। सुगौली सन्धि गर्ने बाध्यता नआइपरेको भए? सिमला जाने फराकिलो पहाडी सडकले धरान धनकुटा बाटो झलझली सम्झाउँदो रहेछ। अनि त्यहाँ पुग्दाचाहिँ कताकता पाल्पा पुगेको अनुभव हुने। तर, धेरै अर्थमा सिमला स्विट्जरल्याण्डको लुगान सहर जस्तो पनि लाग्ने। सायद तानसेन बजारभन्दा निकै ठूलो र फिजारिएको हरियो पहाडको बीचबीचमा ठूल्ठूला भव्य महल देख्दा सिमलालाई तानसेनसँग भन्दा लुगानसँग दाँज्नु अस्वाभाविक नहोला। यति हो, सिमलाका डाँडाहरूमुनि 'लेक ड जनिम' फैलिँदै गएको देख्न पाइँदैन। न त त्यहाँ आल्पसको सप्टो हिमाल नै देख्न पाइन्छ। कता हो कता पर एउटा सानो हिमशिखर कहिलेकाहीँ देखिन्थ्यो।