Skip to main content

आर्थिक उन्नतिको विकल्प


विनोद सिजापति/नागरिकबाट
हालै पारिवारिक कारणले दिल्ली हुँदै सडक मार्गबाट सिमला जाने सौभाग्य मिल्यो। काङ्गडा पुग्दा मन ढुक्क भयो। गौरव लाग्यो पुर्खाहरू कसरी त्यति पर पुगेर नेपाली झण्डा गाढ्न सफल भएका थिए। स्वर्गीय गुप्त सेन सरले ल्याबोरेटरी स्कुलमा गाउन लगाउने गीत 'गाउँछ गीत नेपाली...' पश्चिम किल्ला काङ्गडा पूर्वमा तिष्टा पुगेको झलझली सम्झना आउने नै भयो। सुगौली सन्धि गर्ने बाध्यता नआइपरेको भए? 
सिमला जाने फराकिलो पहाडी सडकले धरान धनकुटा बाटो झलझली सम्झाउँदो रहेछ। अनि त्यहाँ पुग्दाचाहिँ कताकता पाल्पा पुगेको अनुभव हुने। तर, धेरै अर्थमा सिमला स्विट्जरल्याण्डको लुगान सहर जस्तो पनि लाग्ने। सायद तानसेन बजारभन्दा निकै ठूलो र फिजारिएको हरियो पहाडको बीचबीचमा ठूल्ठूला भव्य महल देख्दा सिमलालाई तानसेनसँग भन्दा लुगानसँग दाँज्नु अस्वाभाविक नहोला। यति हो, सिमलाका डाँडाहरूमुनि 'लेक ड जनिम' फैलिँदै गएको देख्न पाइँदैन। न त त्यहाँ आल्पसको सप्टो हिमाल नै देख्न पाइन्छ। कता हो कता पर एउटा सानो हिमशिखर कहिलेकाहीँ देखिन्थ्यो।
सिमला अपत्यारिलो किसिमसँग वर्षायाममा पनि सफा थियो। जथाभावी थुक्नेले पचास रुपियाँ जरिवाना तिर्नुपर्ने, प्लास्टिकको ब्याग फाल्नेले त पाँच सय रुपियाँ नै! सांगुरा सडकमा र मुख्य बजारमा गाडी चलाउन निषेध गरिएको हुनाले वसन्तपुर अथवा पाटन दरबार स्क्वायरमा हिँड्दाको जस्तो गाडीले ठोकिहाल्ला कि भन्ने डरचाहिँ नहुने। अनि आफूजस्तै वर्णका मानिस देख्दा विदेशी नपुगेको हाम्रो कुनै पहाडी बजारमा मेला लाग्दाको अवस्थामा आफू पुगेको अनुभव हुने।
विदेशी पर्यटक न्युन भएर होला खाना खाने रेस्टुराहरूको चाहिँ ठूलै अभाव त्यहाँ पाइयो। भारतीय, कतैकतै चिनिया खाना पाए पनि तिनीहरूको स्वाद उल्लेखनीय पाउन सकिएन। तर, रेस्टुरामा काम गर्ने कामदार, वेटरदेखि कालो कोट लगाएका हाकिमहरूको व्यवहारचाहिँ अति नै प्रसंशनीय थियो। काठमाडौँमा कहिले कसो साथीभाइहरूसँग मिलेर खान जाँदा रेस्टुराहरूमा प्रायःजसो रुखो व्यवहार भोगेको म जस्ता साधारण ग्राहकले पनि बढो शिष्टाचारसँग अतिथिले पाउन सक्ने उच्च कोटिको व्यवहार पाउदा स्वभावतः अचम्म लाग्ने नै भयो। त्यहाँ भेटिएको रेस्टुरामा रहेका नेपाली कामदार पनि अति नम्र थिए। आफ्नै भाइबहिनीबाट स्वदेशमा नपाएको नम्रता विदेशमा चाहिँ पाइने रहेछ।
सिमलामा बनेका भव्य महलदेखि धेरैजसो साधारण घर बेलायतीले त्यो स्थानलाई गर्मीमा भारतको राजधानी बनाउँदा नै निर्माण गरेका थिए। थुपै्र त्यस्ता सरकारी घरको सजावट देख्दा किन उनीहरूले ती पुराना घरलाई पनि त्यति राम्रोसँग सजाएर राख्न सकेका होलान्? भन्ने प्रश्न मनमा आउँथ्यो। कतिपय घर सय वर्षभन्दा पुराना थिए। तिनको बनावट (आर्किटेक्चर) मा न कुनै परिवर्तन थियो न त ती भग्नावशेष जस्ता नै देखिन्थे। झन् ठाउँठाउ"मा स्थापना गरिएका संग्रहालय देख्दा अचम्म लाग्ने। मुगलदेखि ब्रिटिश साम्राज्यका कला तथा वस्तुलाई बढो इज्जतका साथ सुसुज्जित राखिएको। झलक्क सम्भि्कने मुख्तियार जनरल भीमसेन थापाले बनाएको हाम्रो राष्ट्रिय संग्रहालय जस्तो। हुन त राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको सिंहदरबार अगाडिकै शालिकलाई त समय समयमा कपडाले छोपेर लुकाउनुपर्ने सभ्यताको विकास गरिराखेको परिप्रेक्ष्यमा नयाँ नेपालमा ऐतिहासिक सम्पदाको के महत्व? पाल्पाको दरबारमा बम पड्काउने प्रचलनसँग सम्बन्धितहरुलाई त्यसको महत्व हुने कुरै भएन।
बन्दीपुरमा मात्र होइन, अन्यत्र पनि सविस्तार हाम्रो आन्तरिक पर्यटन उद्योग धीमा गतिमा नै भए पनि बढ्न थालेको परिप्रेक्ष्यमा भने सिमलामा 'अतिथि देवो भवः' को सिद्धान्त जसरी व्याप्त देखियो, त्यो संस्कृतिको विकास हामीले गर्न उचित हुने देखिन्छ। रुखोपनको बदलामा स्वाभाविक नेपाली मुस्कान र पाहुनालाई स्वागत गर्ने हाम्रो परम्परा कायम गर्न सकेको खण्डमा सिमला जस्ता थुप्रै स्थानको हामीले पनि विकास गर्न सक्ने थियौ।
त्यसो भएमा निश्चय पनि भारतमा बढ्न थालेको मध्यम वर्ग सीमा नाघेर यहाँका गन्तव्यमा पनि आउन थाल्ने थिए। जसले गर्दा जलविद्युत्को विकासमा पछि नै परे पनि पर्यटन विकासमा हामी अघि बढ्न सक्ने थियांै। मेरा स्विडिस प्रोफेसर सधैं भन्ने गर्नुहुन्थ्यो- 'जबसम्म भारतले विकास गर्दैन, तबसम्म तिम्रो मुलुकको उन्नति हुँदैन।' उहाँको त्यो भनाई सही लाग्दै थियो। किनकि त्यो समय हामीकहाँ पाइने प्रायः सबै कृषि मजदूरदेखि औद्योगिक मजदूरसम्म उतैबाट आएका हुन्थे। अरु त अरु कपाल काट्ने हजामसमेत छप्रा र हाजीपुरका बासिन्दा हुन्थे। हाम्रो औद्योगिकीकरण भनेको उताका मजदूरलाई रोजगारी दिने निकाय हुने गर्दथे। अब त्यो परिस्थिति रहेन। भारतीय अर्थतन्त्र हात्तीको गतिमा लस्कन थालेको पनि झण्डै दुई दशक हुन थालिसक्यो। यस वर्ष उनीहरूको आर्थिक वृद्धिदर घटेर ६ प्रतिशतमा ओर्लिए पनि विगतमा चार पाँच वर्षसम्म उनीहरूले ९ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गर्न सफल भएका थिए। जसले गर्दा उनीहरूको प्रतिव्यक्ति वार्षिक आय हाम्रो भन्दा दुई गुणा बढी हुन लागिसकेको छ। जसको फलस्वरुप दक्षिणबाट आउने कामदारहरूको संख्या क्रमिकरुपमा घट्न गई हाम्रो तराईमा समेत कृषि मौसममा श्रमको हाहाकार पर्न थालिसकेको छ।
त्यसैगरी ७०-८० को दशकमा जस्तोे 'फारिन गुड' खरिद गर्न पर्यटकहरू हाम्रो मुलुकमा आउन पनि छाडिसकेका छन्। किनकि भारतीय अर्थतन्त्रले खुलापन अवलम्बन गर्न थालेपछि हामीकहाँ पाइने विदेशी सामान त्यही सुपथ मूल्यमा पाउन थालिसकेको छ। केही वर्षयता आउने भारतीय पर्यटक कि तीर्थयात्राका निमित्त नेपाल आउँछन् कि चाहिँ सौख गर्न। दुःखको कुरा पहिले पहिलेका हवाई भरिया जसले बैंकक तथा हङकङबाट नेपालभित्रकै भारतीय बजारका लागि सामान ओसार्थे, अब ती सीमापारि गएर त्यहाँ पाइने सामान नेपाल भित्रयाउनेतर्फ लागेका छन्।
भारतबाट हामी थुप्रै सरसामान नेपाल भित्र्याउने गर्छौं। धेरै सामान भन्सार महसुल तिरेर भित्रन्छ। कतिचाहिँ भन्सार छलेर अर्थात् राजस्व नतिरेर। प्रश्न उठ्छ, किन हामी सीमापार गएर भारतीय सामान खरिद गर्छौं? उत्तर सरल छ- त्यहाँ ती सामान सस्तोमा पाइन्छ। किन सीमापारि सामान सस्तो हुन्छ? त्यसको पनि सरल उत्तर छ किनकि त्यति सस्तोमा हामी ती सामान निर्माण गर्न सक्दैनांै। यसका थुप्रै कारण छन् तर पनि प्रमुखमध्ये एकचाहिँ हामीकहाँ कामदारले पाउने ज्याला महंगो हुनाले हो। विडम्बनाको कुरा हो, उनीहरूको भन्दा हाम्रो आय कम छ तर पनि उनीहरूको दाँजोमा हाम्रो श्रम महंगो छ। जब श्रम महंगो हुन्छ, लगानीकर्ता स्वभावतः सस्तो श्रमको खोजमा हुन्छन्। तिनीहरू दच्केर सस्तो र कम झन्झटिलो स्थान रोज्न पुग्दछन्। हाम्रो उन्नति जुन गतिमा हुन सक्ने थियो, त्यो गतिमा हुन नसक्नुका विभिन्न कारणमध्ये एकचाहिँ उच्च श्रम मूल्य पनि हो। राजनीतिक अस्थिरता अनि महंगो श्रम भएको मुलुकमा कसले लगानी गर्ने हो?
निश्चय पनि भारतलाई ऊर्जाको ठूलो आवश्यकता छ। तर, माओवादीको विरोधका कारण हामी पानी खेर फाल्न तयार छौं। त्यसको उपयोगले भारतमा निर्यात गर्न सक्ने जलविद्युत् उत्पादन गर्न असमर्थ। जलविद्युत् उत्पादन गर्ने, लोडसेडिङ घटाउने र त्यसपछि निर्यात गर्ने भन्ने कुरा छेपाराको उखान बनेको छ। तर, भारतीय बजार जहाँ स्विट्जरल्याण्डमा बनेको नेस्लेको पिउने पानी बिक्री हुन थालेको छ, त्यहाँ स्वच्छ हिमाली नदीका मुहानबाट पैदा भएको पानीलाई बोतल गरेर निर्यात गर्न त्यति समय पनि लाग्ने थिएन र कठिनाई पनि हुने थिएन होला। निश्चय पनि भारतमा निर्माण हुन थालेका सडकले ऐले 'चुरे' सखाप पार्न सहयोग गरेका छन् र पनि भविष्यमा हामीले उत्पादन गरेका सामानको बजार सुविधा प्राप्त गर्न भने निश्चय पनि त्यसबाट सहयोग प्राप्त हुनेछ। बिहारले १३ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्दा हामी पनि कमसेकम ९ प्रतिशतले उन्नति गर्न सबल हुनुपर्ने थियो। उन्नतिको दिशातर्फ उन्मुख हुने हो भने हामीले पनि सानातिना सिमला बनाउने र तिनको आवश्यकताअनुरुपका पूर्वाधार तयार गर्नेतर्फ लागेर आफ्ना उत्पादन भारतीय बजार उन्मुख तुल्याउनु आवश्यक देखिन्छ।

www.facebook.com/emazza45

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY