घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन्
लीलामणि पौडेल, मुख्यसचिव
भूकम्पले क्षति पुर्याएका स्थानमा विभिन्न राहत सामग्री लिएर अथवा स्वयंसेवी अभियान लिएर युवाहरू पुगेका छन् । देश र समाजप्रति समर्पण र सहयोगी भावना देखिएका छन् । युवामा आएको यो जागरणले हामी सबैलाई अलिकति आशावादी हुन् प्रेरित गरेको छ ।
घरहरू ढलेका छन्, मनहरू ढलेका छैनन् भन्ने ब्यानर्स पनि देखिएका छन् । दुःखमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हामी छौं भन्ने आड र भरोसा युवाले नै दिए । देश र देशबाहिर रहेका नेपाली युवायुवतीले सहयोगी हात बढाए । विदेशमा रहेका नेपाली युवा पनि आएर स्वतस्फूर्त रुपमा गाउँगाउँ पुगेका छन्, यही नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो, सम्पत्ति हो ।
आफन्तहरू गुमाएका, घरबास र सम्पत्ति गुमाएका हाम्रा दाजुभाइ, दिदीबहिनीहरू जो यो त्रासदिबाट बच्न सफल हुनुभयो, उहाँहरू आफ्नो पुनर्वासका लागि जुट्नुभएको छ । कतिपय गाउँहरूबाट यस्ता सूचना आएका छन्, गाउँ सबै ध्वस्त भएको छ, तर ती गाउँमा दाजुभाइ दिदीबहिनीहरू पालैपालो सबैको घर बनाउन जुटेका छन् । गाउँभरिका मान्छेहरू जुटेर पहिला एउटाको घर बनाउने, त्यसपछि अर्कोको बनाउने गरी सबैको घर सबैले बनाउने अभियानमा लाग्नुभएको छ । यसरी हातहरू जोडिएका छन् । यसले सामाजिक सद्भाव र एकता सुदृढ बनाएको छ । यो भूकम्पले नेपालीबीच निकटता बढाएको छ । थप आत्मिय र सहयोगी बनाएको देखिन्छ । यो पनि हाम्रा लागि ठूलो सामाजिक पुँजी हो ।
विपत्तिहरू आउँछन् । विपत्तिबाट आत्तियौँ र आत्मविश्वास गुमायौँ भने हाम्रा अवसर र सम्भावना सबै गुम्छन् । अहिले आत्मविश्वास जगाएर राखौँ । स्वाभिमान जोगाएर राखौँ । आफ्ना क्षमतामाथि विश्वास गर्ने हाम्रो जुन परिपाटी छ, यसलाई थप मजबुत बनाउनु आजको आवश्यकता हो ।
यी पुँजीले हामी फेरि हाम्रो मुलुकको निर्माण गर्न सक्छौँ भन्ने बलियो आशा जगाएको छ । तर, यो किसिमको विचार सम्प्रेषण गर्न नेतृत्व अग्रसर हुनुपर्छ । समाज र समाजका इकाइहरू खासगरी परिवार र व्यक्ति उहाँहरू चाहिँ आ–आफ्नो ढंगबाट फेरि आफ्नो जीवनलाई सहज र सरल बनाउन, यथावत रुपमा फर्काउनका निम्ति प्रयत्नशील हुनुहुन्छ, उहाँहरूलाई अलिकति साहस चाहिएको छ । अलिकति भरथेग चाहिएको छ । त्यो साहस र भरथेगका निम्ति राज्यका निकायहरू र संगठित शक्तिहरू नै अग्रसर हुनुपर्छ । समाजभन्दा माथि संगठित शक्ति छन्– राजनीतिक, सामाजिक संगठनहरू । यिनीहरूले जनताको आँटमा आड दिनुपर्छ ।
संसारमा धेरै मुलुक यस्तै विपतबाट बौरिएर समृद्ध बनेका छन् । यस्तो बेला उनीहरूका लागि सबैभन्दा ठूलो कुरा आत्मविश्वास, मिहिनेत, इमानदारिता र निरन्तर प्रयास नै थियो । सामाजिक, राष्ट्रिय स्वार्थका लागि व्यक्तिगत स्वार्थ त्यागेकैले ती मुलुक अघि बढेका हुन् । चाहे युरोपको पुनर्जागरण युगको कुरा गर्यौँ, जापान–चीन होस्, उपनिवेशपछिको अवस्थामा भारतकै कुरा गर्यौं, उनीहरूमा एक किसिमको सामाजिक जागरण आएको इतिहास पाइन्छ ।
यो भूकम्पले नेपालीबीच निकटता बढाएको छ । थप आत्मिय र सहयोगी बनाएको देखिन्छ । यो पनि हाम्रा लागि ठूलो सामाजिक पुँजी हो ।
देश बनाउने देशकै नागरिकले हो । अरु विदेशीहरू त सहयोगी मात्रै हुन् । विदेशीको सहयोग चाहिन्छ नै । तर, त्यो सहायक मात्रै हुन सक्छ । त्यो प्रधान भयो भने मुलुक झनै दुर्गतिको बाटोमा जान्छ । हाम्रै बलबुताले हाम्रै आफ्नो विश्वास र हाम्रै साधन–स्रोतले हामीले निर्धारण गरेको लक्ष्यमा पुग्न सक्छौँ । यसमै हामी अग्रसर हुनुपर्छ । हाम्रो अग्रसरतामा विदेशी मित्रराष्ट्र, दातृ संस्थालगायत हाम्रा सहयोगी, शुभचिन्तकले साथ मात्रै दिने हो ।
जसरी जनताहरू स्वस्फूर्त ढंगले आफ्नो जीवनलाई सहज र सरल बनाउन अग्रसर छन्, सामाजिक इकाइहरू सक्रिय भइरहेका छन् । खासगरी युवामा जुन किसिमको सहयोगी, स्वयंसेवक भावना र आत्मविश्वास देखिएको छ, यी सबैलाई सबलीकरण गर्न, भरथेग र बल पुर्याउन राज्यका सबै निकाय केन्द्रीकृत हुनुपर्छ । हाम्रा योजना, हाम्रा साधन–स्रोत, हाम्रा क्षमता, हाम्रा विचार हाम्रा संगठित शक्तिहरू यसमा केन्द्रित हुनुपर्छ ।
अवश्य नै मुलुक नवनिर्माणको चरणमा प्रवेश गर्न सक्छ । विपत्तिहरू आउँछन् । विपत्तिबाट आत्तियौँ र आत्मविश्वास गुमायौँ भने हाम्रा अवसर र सम्भावना सबै गुम्छन् । अहिले आत्मविश्वास जगाएर राखौँ । स्वाभिमान जोगाएर राखौँ । आफ्ना क्षमतामाथि विश्वास गर्ने हाम्रो जुन परिपाटी छ, यसलाई थप मजबुत बनाउनु आजको आवश्यकता हो ।
हामीले एउटा सुन्दर मुलुकको सपना–कल्पना गर्न सक्छौँ र त्यो बाटोमा हामी अगाडि बढ्न सक्छौँ ।
(रातोपाटीसँगको कुराकानीमा आधारित)
Source : Ratopati(रातोपाटीसँगको कुराकानीमा आधारित)
Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar
Comments
Post a Comment
Comment us and help for make it better!!