Skip to main content

ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँछौ ..

बिनु पोखरेल

आउँछ भनेको सुनेका थियौँ। तर कस्तो र कतिबेला आउँछ थाहा थिएन। यहि समयमा आउँछ भनेर कसैले भनेनन् पनि। भन्नै पनि सक्दैनथे।
त्यो आयो ०७२ बैशाखको १२ गते १२ बजेको समय बनाएर आयो।
अनि हाम्रा सुन्दर गाउँबस्ती र कलात्मक मठ मन्दिर गर्ल्याम गुर्लुम्य ढलाएर गयो। विश्वभर छरिएर रहेकाहरु नेपालीको मनमुटुमा एउटा कहाली लाग्दो दिनको कुरुप सम्झना गाडेर गयो।
केही सेकेण्ड मात्र आएको त्यो भयानक कम्पनले ति सुन्दर गाउँसँगै दशौँ हजारको ज्यान लिएर गयो। हजारौँ हजारको खुसी निमेष भरमा धुलो बनाइदियो।
नेपालकै ठाउँ–ठाउँमा केन्द्रबिन्दु पारेर आएको त्यो भयानक कम्पनले जीवन र जगत नै थिल्थील्याएर गयो। त्यहि त्रास, हजारौँ हजार आफ्ना आफन्तबाट छुट्टिन परेको पिडाले हामी शिथिल छौँ, अनि थकित छौँ।
कतै चिरीएको छ, कतै हिउँ पहिरो, त कतै वर्षा उसै बेला खपिनसक्नुको पीडा बोकेर हिँडेका छाँै हामी यतिबेला।
भुकम्पले हाम्रो धेरै थोक लुट्यो र हामीलाई एउटा गतिलो पाठ पनि  सिकाएर गयो— धन, जात, धर्म केहि–केहि चिजले ठूलो सानो हुँदैन। सबै हामी समान छौँ। धनी मर्दा र बाहुन मर्दा, गरीब मर्दा र अर्को जनजाति मर्दा छोप्ने कपडा एउटै हुनेछ।
अर्को कुरा पनि— भुकम्प आफैले केही गर्दैन हामीले गल्तीले भुकम्पले ढाल्ने घर बनायौँ। हामीले हाम्रो ज्यान जोगाउन बनाएका घर नै हाम्रो मृत्युको कारण बन्यो।
अनि यी सबै कुरा देखेर भुकम्पको त्रासले हामी जुध्यौँ अनि भाग्यौँ पनि। तर अब भागेर होइन, लागेर केहि गरौँ, डराएर होइन निडर भएर निस्कौँ।
जहाँ छौ, जहाँ रहन्छौ त्यहिँबाट आँट, साथ र साहस झिकेर अगाडि बढौँ।
ढलेको संरचनाले भन्दै छन् —हामी ढलेका मात्र हौँ, मरेका छैनौँ। हाम्रा मृत आत्माहरुले भन्दै छन् हामी मरेका मात्र हौँ, गलेका छैनौँ।
त्यसैले मरेका हाम्रा आफन्तहरुको आँटलाई शक्तिमा बदलेर जुन ठाउँमा छौँ, त्यहि ठाउँबाट जुटौँ। यो जिउँदो देउता पुज्ने बेला हो। अहिल्यै केहि गरेनौं भने तिमीले कहिल्यै केहि गर्ने छैनौँ।
दिनभर मन्दिरको लाइनमा बसेर ढुङ्गा पुज्ने समय निकालेर उठ अहिले पनि गरेनौँ भने भोलि ब्रत बस्ने र मन्दिरमा लाइन लागेर ढुङ्गा पुज्ने छुट हुने छैन तिमीलाई।
साँच्चै यतिबेला हामी दुखेका छौ। भत्किएका छौँ।देश चर्किएरको छ, अनि त हाम्रो मुटु चर्किएको छ।
हो, हामी दुखेका छौ तर हाम्रो इच्छा, शक्ति मरेको छैन, हाम्रो नेपाललाई संसारकै छुट्टै सुन्दर शान्त देश बनाउने हाम्रो जाँगर र आँट मरेको छैन। हामी नेपाली संसारले चिनिएका पौरखी हात र उद्धार मनका हौ।
त्यसैले निराश भएर, अरोप प्रत्यारोप गरेर होइन, हातमा हात राखेर, हरेक हातमा इटा र कोदाली लिएर जस्तोको तस्तै छैन हिजो भन्दा सुन्दर र कलात्मक नेपाल बनाउनु पर्छ।
तिमी सबै सन्तान गुमाएकी आमाको आँसु पुछ, म आमा बाबा गुमाएकी छोरीलाई हात दिन्छु। उसले माटो मुछ्छ। उनी इटा ओर्साछिन् तिमी गाह्रो लगाउ त्यस्ले घरका भित्ताहरुमा सुन्दर सुन्दर  बुट्टा बनाउँछ। अनि कसो बन्दैन हाम्रो मायाको सुन्दर घर बस्ती अनि त्यो हाम्रो सुन्दर मठ मन्दिर र पार्टीपौवा?
ती मठ मन्दिर ढल्दा तिमी ढल्कनु हुन्न। खाडीका गगनचुम्बी भवन तिमीले नै बनाएका होइनौँ? चर्को घाममा रापिएर सयौँ तले भवन तिमीले ठड्याएका होइनौ अरबमा? अनि किन हाम्रा ढलेका मठ मन्दिरलाई मजाक बनाएर खिस्स हास्दै सेल्फी खिच्ने विरुद्ध अर्को नयाँ नेपाल बनाएर मीठो जवाफ दिन नेपाल र्फकदैनौ?  
अनि किन देश दुखेको बेला हाम्रो दुखेको घाउमा नुन छर्न आउने विरुद्ध धावा बोल्दैनौ? यो बेला हामीलाई आपत् मात्र हैन देशमा डाँका लाग्ने उत्तिकै डर छ। त्यसै बेला भवन बनाएर घरभाडा उठाएर बैंकमा जम्मा गर्नेले राहत खाको छ।
त्यसको विरुद्ध बोल्ल तिमी आउँनै पर्छ।  तिमी आफ्नो घरको आफ्न्त गुमेको निवेदन दिन कहिल्यै आउँछौ, विदेशबाट? तिमी आफन्तको पीडाले र देशको मायाले मरीरहेको मुटुका छाप दर्ज गराउन कहिले आउँछौ खाडीबाट?तिमी आउ नेपाल।
हिजो हाम्रा ढलेका मठ मन्दिर र पाटीपौवा र तिनै सुन्दर गाउँ घर बनाउन आउ।
नेपालीले चाहे, मरुभुमिमा हरियाली बनाउन सक्छन् भन्ने कुरा साबित गरेर देखाएकाछौ तिमीले।
आउ तिमी जहाँ भए पनि जुन देशमा भएपनि अरब, अष्टे्रलिया, अमेरीका, बेलायत जहाँ भएपछि नेपाल फर्केर आउ यो नेपालप्रति र मातृभूमिप्रति माया देखाउने बेला हो यो।
साग र सिस्नु खाउँला,कतै स्याउ फलाउला, कतै आलु लगाउला, कतै  अम्लीसो लगाउला त कतै पाखाबारी भरी गुराँस फुलाउला ,बाँचे जति हामी सँगै बसौँला।
यहिँ रमाउँला, जसरी सयौँथरी बाजा एक तालमा बज्छन्। हरेक ठाउँ, हरेक धर्म, हरेक जात र हरेक वर्गबाट एक इटामा अर्को इटा थप्न जाँगर बोकेर एकैसाथ निस्कौँ।
मक्किएका हाम्रा गाउँ बस्ती, सहर र पार्टीपौवा अनि मठ मन्दिर चैत्य र गुम्बा ठड्याउन जुटौँ। आत्तिएर होइन सम्हालिएर अघि बढौँ सँगै जुटौँ सँगै उठौ अनि भनौँला –ए आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला ....
Source : SETOPATI ONLINE
Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

Photo:Hilli Areas of Nepal(नेपालको पहाडी सुन्दरता)