Pradeep Giri(प्रदिप गिरि)
विश्वले एक्काइसौ शताब्दीको पहिलो दशक समाप्त गरी सक्यो । एक्काइसौ शताब्दीको शुरुवात विश्वम अन्र्तररष्ट्रिय समाजवादको पराजयवाट भएको थियो । १९८९ मा सोभियत यूनियनको विघटन भएपछि अमेरिकाको नेतृत्वमा रहेको पूजीवादी विश्व अत्यन्त उत्साही थियो । पुजीवादका कतिपय चिन्तकले अब इतिहासको अन्त्य भइसक्यो, अब सिंगो संसारमा एकमात्र विचारधारा रहन्छ, त्यो विचारधारा भनेको पूजीवादको विचारधारा नै हो भनेर जोड दिए । खासमा प्रचलित उदारवादलाई पूजीवादको विचारधारा कै रुपमा व्याख्या गरिन्छ , कुरो त्यत्ति हो ।
कुरो सोभियत यूनियनको विघटनको मात्र थिएन । बीसौं शताब्दीमा यूरोपका अनेकौं देशमा सोसियल डेमोक्रेटिक पार्टीहरु सत्तामा आएका थिए । सोसियल डेमोक्रेट पार्टीहरुले आफ्नो लक्ष्य समाजवाद बताउँछन् । तर, बीसौं शताब्दीको अन्त्य हुँदा सम्म सोसियल डेमोक्रेटिक पार्टी सत्तारुढ रहेका देशहरुमा पनि तिनीहरुको असफलता प्रकट भइसकेको थियो । सोसियल डेमोक्रेटिक पार्टीले आफ्नो मूलुक र समाजमा कल्याणकारी राज्य बनाउने कोशिस अबश्य गरेको थियो । प्रारम्भिक चरणमा उनीहरु एकहद सम्म सफल पनि भएका थिए । तर, सोभियत यूनियनको विघटन पछि कल्याणकारी राज्यको सम्भावनामा प्रश्न चिन्ह लाग्दै गयो । सोभियन यूनियनको पतन पछि विश्वमा पूजीवाद निर्वाध किसिमले अगाडी बढ्यो । खासमा बीसौं शताब्दीको अन्त्यतिर केन्सीय विचारधारावाट प्रेरित कल्याणकारी विचारधारामा शंका र विरोध जताइन थालिएको थियो । विश्वमा मार्गरेट थ्याचर र रोनाल्ड रेगनले नेतृत्व गरेको मुद्रावादी सिद्धान्त र बजारवादी राज्य प्रभावशाली भइसकेको थियो । यस विचारधाराका अनुसार राज्यले हस्तक्षेप गर्नु हुदैन, शिक्षा र स्वास्थ्य जस्ता साहै नै महत्वका कुरालाई पनि नीजि उद्यमीलाई नै दिनु पर्दछ , राज्यले आम जनतालाई राहत दिने भनेको उनीहरुको आलस्य र अनुत्पादकतालाई प्रोत्साहन दिने मात्र हो भन्ने बजारवादी अर्थशास्त्रीको भनाई थियो । मिल्टन फिल्डमन यसका जवरजस्त प्रवक्ता थिए । २००० इस्वी शुरुहुँदा सम्म यसै विचारधाराले पुरा यूरोपलाई ग्रस्त गरिसकेको थियो । यी पंक्ति लेखिदाताका सम्म स्क्यानलेभियाका स्वीडन जस्ता कल्याणकारी राज्य पनि रक्षात्मक स्थितिमा पुगेका छन् ।यहाँपनि राज्यको कल्याणकारी भूमिका खुम्ची रहेको छ ।
हामी यस्तो अबस्थाको भविष्यमा उभिएका छौं । यस्तावेलामा समाजवाद मात्र होइन , सबै किसिमका परिवर्तनकारी आन्दोलन अत्यन्त कमजोर हुनु स्वभाविक हो । विश्वमा कहिपनि समाजवादको कुरा जोडसोरले गरिएको सुनिदैन । विश्वमा कुनैपनि क्रान्तिकारी विचारधारा प्रभावशाली छैन । यति भन्दैमा आम जनता बेचैन छैनन् भन्ने छैन । आम जनता बेचैन छन् । त्यस बेचैनीको अनेका अनेक अभिव्यक्तिहरु भइरहेका छन् । यसै अभिव्यक्तिकोरुपमा एक्काइसौ सताब्दीको शुरुवात पनि अमेरिकाको टुइन टावरको विरुद्ध आतंकबादी आक्रमणवाट भएको थियो । कुरो त्यत्तिमा सिमित छैन । छिमेकी हिन्दुस्थानमा माओवादी पार्टीको नेतृत्वमा त्यहाँ बस्ने आदिवासीहरुले विकट हृसंक संघर्ष गरिरहेका छन् । भर्खरै पछिल्लो महिना मात्र त्यहाँ माओवादीहरुले गरेको आक्रमणवाट उच्च पदस्थ नेताहरुको मृत्यु भएको छ । हत्याभएका समाचार सबै अखवारमा छापिएको छ । माओवादी एउटा निश्चित विचारधाराको प्रतिनिधित्व गर्ने समुह हो । माओवादी बाहेक पनि अनेका अनेक गैरराजनीतिक समुहहरुले संगठित राज्य अथवा राष्ट्रिय राज्यसंग अनेक रुपमा भीषण टक्कर लिइरहेका छन् । हिन्दुस्थानमा पूर्वी उत्तर सीमा तर्फ भइरहेको स्वायत्तताको संघर्ष , कस्मिरको कहिले नटुंगिने धार्मिक ? द्वन्द्व यस्तै द्वन्द्वहरु हुन । यतिले नपुगेर कहिले काँही अन्ना हजारे र रामदेवजस्ता हास्यासपद पात्रले पनि सिंगो राज्यलाई हल्लाएको परिदृष्य देखिन्छ । यो सब के हो ? ठीक त्यस्तै विश्वको महाशक्ति बन्न लम्किएको चीनले पनि आफ्ना समाज भित्र एक होइन अनेकौं चुनौतीको सामाना गरिराख्नु परेको छ । अझ तिब्बतको कुरा त उल्लेख नै नगरु । तिब्बतको कुरा चीन सुन्नै चाहदैन । यो अबस्थामा केही समय अघि मात्र भएको अमेरिकामा वालस्ट्रिट कब्जा गर्ने आन्दोलनलाई पनि हामी हेक्का राख्न सक्छौं । यतिहुदा हुँदै पनि आगामी दिनमा परिवर्तनको के रणनीति हुन्छ भन्नेबारे हामी कोही पनि स्पष्ट छैनौं । आजको सबैभन्दा ठूलो संकट यही नै हो ।
विश्वमा यस समय कम्यूनिष्टका नामले अथवा सोसियल डेमोक्र्याटका नामले चिनिएका हिजोका परिवर्तनवादी शक्तिहरुको छवि विशेष उज्यालो छैन । तर, यिनै संज्ञा भित्र वा बाहिर सक्रिय अनेकौं समुहहरु अवश्य छन् । नेपालमा केही बर्ष अघि माओवादीका नामवाट विकट सामाजिक संघर्ष चलाइयो । त्यस संघर्षका ठोस सामाजिक आर्थिक कारणहरु अवश्य पनि थिए । नेपाली समाजमा यत्रो ठूलो जनसंचालन, जनसंघर्ष विरलै भएको थियो । जनजाती, दलित, महिलाहरुलाई माओवादीले अद्भूत आत्मविश्वास प्रदान गरेको थियो । यी सबै त्यतिखेर लडे । तर, अहिले आएर माओवादीको संस्थापन पक्ष कमसेकम आत्महीन र पराजित जस्तो देखिन्छ । यति भन्दैमा माओवादी आन्दोलन समाप्त भयो भन्न सकिन्न । ठीक यस्तै कुरा ऐतिहासिक मधेस आन्दोलनका वारे भन्न सकिन्छ ।
नेकपा माओवादीको संस्थापन पक्षको कमजोरीले गर्दा अनेकौं टुक्रा माओवादी शक्ति देखिएका छन् । सानासाना नयाँ माओवादी पार्टी छन् ।अझ त्यसमाथी मोहन बैद्यले नेतृत्व गरेको माओवादी पार्टी को उपस्थिति सर्वथा उल्लेखनीय छ । यिनीहरुको गन्तव्य के होला ? यिनीहरु कहाँ पुग्लान ? यो भन्न सकिने अबस्था छैन । संगठित माओवादी पार्टी भन्दा पनि नेपालमा यो समय देखा परिरहेको जातिय आन्दोलन झन चर्को भएको छ । जनजातिहरुले आफ्नो बेग्लै पार्टी बनाइसकेका छन् । मधेसको संघर्ष यथावत छ ।
दलितहरुको शक्ति र स्वरको उल्लेख्य उपस्थिति छैन । तर, दलितहरुको असन्तुष्टि पनि जगजाहेर छ । र दलितहरुले एक व्यक्ति एक भोटको नाममा चालू जनतन्त्रमा आफ्नो संतोषजनक प्रतिनिधित्व कहिल्यै पाउँदैनन् भन्ने कुरा स्पष्ट छ । यो कुरो भारतमा पनि स्पष्ट भएको कुरा हो । यो कुरा नेपालमा पनि स्पष्ट भइसकेको छ । यस्तो अवस्थामा परिवर्तनकारी शक्तिले कहाँ गएर कसरी आफ्नो शक्ति जुटाउने कसरी आफ्नो संगठन बढाउने ? अर्को शब्दमा भन्नेहो भने कसलाई आफ्नो बाहन बनाउने ?
कार्लमाक्सको सन्देश स्पष्ट थियो । कार्लमाक्सले मजदुर बर्गलाई आफ्नो संघर्षको बाहन वा माध्यम बनाउन चाहेका थिए । दुनियाँको मजदुरहरु एक हौ भन्ने कार्लमाक्सको आह्वान थियो । त्यतिले नपुगेर कार्लमाक्सले बर्गसंघर्षका अनिवार्य नियमहरुको उल्लेख गरेका थिए । विश्व जानिनजानी क्रान्तिका तर्फ लम्कदै छ भन्ने कुरा कार्लमाक्सको ठहर थियो । कार्लमाक्सले आफ्नो क्रान्तिको केन्द्रमा उत्पादनको शक्ति र उत्पादनको सम्बन्धलाई राखेका थिए । उनका विचारमा मानवीय चिन्तन र भावना त्यसपछि मात्र अगाडी आउँछन् । अर्थात उत्पादनका शक्तिका सामु मानव चेतना गौण थियो । यसै सिद्धान्त अनुसार कार्लमाक्स यूरोपमा भएको औद्योगिक क्रान्ति र त्यसवाट उत्पन्न भएको पूँजीवादलाई आधारभूत रुपमा सकारात्मक प्रकृयाको रुपमा लिन्थे । पूँजीवादले उत्पादनका सबै समस्या समाप्त गर्नेछ भन्ने कार्लमाक्सको विश्वास थियो । त्यसपछि समाजवादले वितरणको काम गरिदिए पुग्छ भन्ने कार्लमाक्सको ठहर थियो ।
दुर्भाग्यबश इतिहास यस्तो रेखीय बाटोमा हिँडेन । खासगरेर तेस्रो विश्वमा देखापरेका अप्रत्यासित घटनावाट कार्लमाक्स विशेष परिचित थिएनन । एशियायी मुलकमा देखापरेको अस्मिताको आन्दोलन कार्लमाक्सको सुत्रलाई तानतुन गरेर बुझिने कुरा होइन । माक्र्सले मनुष्यले मनुष्यको शोषण गर्ने कुरा यथार्थ औल्याए त्यस विषयक उनको प्रस्थापना अझै प्रासंगिक छ । तर, मनुष्यले मनुष्यको शोषण शुन्यमा गर्ने होइन । मनुष्यले प्राकृतिक सनसाधनको दोहनको क्रममा आफ्नो दाजुभाइको सजातिय शोषण गरेका हुन । बातावरणवादीहरुले यो कुरा औलाएका छन् । प्रकृति र पृथ्वीको कल्पनातित शोषणले मनुष्य जातिको सम्पूर्ण विनाशको पृष्ठभूमि बनाएको छ । यो भनेको माक्र्सवादको विरोध भने होइन । केही माक्र्सवादीले दासक्यापिटलमा पनि माक्र्सको वातावरणीय चिन्ता भेटेका छन् । त्यतिहुँदा पनि परम्परागत अथवा रुढ माक्र्सबादले एशियाको बर्तमान परिवर्तनलाई बुझ्न र बुझाउन नसकेको भन्ने आरोप लगाउन सकिन्छ । यसको अर्थ शास्त्रीय माक्र्सवादको अबमुल्यन होइन । एउटा खास किसिमको माक्र्सवादको मात्र आलोचना गर्न खोजिएको हो । माक्र्सका हकमा कुरा गर्नु पर्दा माक्र्स बर्तमान यूगका महानतम चिन्तक हुन भन्ने कुरामा कुनै कन्चुस्याइ गर्नु पर्ने छैन । माक्र्सलाई नबुझिकन समकालिन विश्वको गतिशास्त्रलाई बुझ्न सकिदैन । र, माक्र्सलाई बुझेकै मानिसले के भन्न सक्छ भने माक्र्सका सुत्रहरुमा अल्मलिने हो भने हो भने एशियाका समस्या बुझ्न बडो अप्ठेरो छ । माक्र्सलाई पनि कदाचित यसकुराको अनुमान थियो, आभास थियो । त्यसैले होला कार्लमाक्सले आफ्नो रचनामा एशियायी उत्पादन प्रणालीको बेग्लै प्रकारको अनुसंधान गर्नु पर्छहोला भनेर स्पष्ट भनेका थिए । यो कुरो हामी सबैलाई थाहा भएकै कुरा हो ।
आज एशियामा सामान्य त र नेपाल र भारत जस्तो देशमा विशेषत देखिएको मूख्य समस्या के हो भने मुलुकमा र समाजमा देखिएका सबैप्रकारका परिवर्तनकारी शक्तिका बीचमा समन्वय हुन सकेको छैन । माथी हामीले संकेत गरे जस्तै भारतमा रामदेव जस्ता पुर्नरोत्थानवादी अन्नाहजारे जस्ता नबगान्धीवादी देखि लिएर सुन्दरलाल बहुगुँडा र मेधा पाटेकर जस्ता पर्यावारणवादी पनि परिवर्तनका पक्षमा उभिएका छन् । महिला आन्दोलन र दलित आन्दोलनको कुरा नगरौं । भारतमा दलित आन्दोलन मजबुत छ । यति हुँदा हुँदै पनि यी सारा आन्दोलनलाई एक सुत्रमा बाँध्न पनि कुनै विचारधारा छैनन् । यसकिसिमको साझा विचारधारा समाजवादी परम्परामा मात्र उपलब्ध हुन सक्छ । तर त्यस तर्फ हामी समाजवादी भनाउदाले ध्यान दिएका छैनौं ।
अद्भूत भविष्य दृष्टिका साथ कुनै समय जयप्रकाश नारायणले सम्पूर्ण क्रान्तिको आह्वान गरेका थिए । थिए । राममनोहर लोहियाले अझै एक कदम अगाडी बढेर सप्त क्रान्तिको संख्या गनाएका थिए । दुर्भाग्यवश रुढ माक्र्सवादीलाई लोहिया र जयप्रकाशको नाम सुन्नासाथ रिगंटा छुटेर आउँछ । हाम्रो सोचाई स्पष्ट छ । भारत र नेपाल जस्तो देशमा देखापरेको सबैप्रकारको संघर्षलाई एकसुत्रमा बाध्ने एउटा सोचको खाँचो छ । त्यो सोच कहाँवाट ल्याउने ? माक्र्सको परम्पराले या समाजवादी आन्दोलनले त्यो सोच हाँसिल गर्नका लागि ठूलो मद्दत गर्दछ । तर, कुनै खास किसिमको माक्र्सवाद नै त्यससोचको पर्याय हो भन्नु गल्ती हुन्छ ।
दोस्रो कुरो विश्वमा आज परिवर्तनको प्रमुख शत्रु को हो ? आँखा चिम्लेर भन्न सकिन्छ विश्वपूजीवाद नै परिवर्तनको सबैभन्दा ठूलो शत्रु हो । विश्व पूजीवादद्वारा पोषित र संरक्षित साम्राज्यवाद नै आज हाम्रो पिठ्यौंको सबैभन्दा गरुंगो बोझ हो । मुलुकको नाम किटन कठिन छ । तर मुलुकको नाम किटने नै हो भने हामीले संयुक्त राज्य अमेरिकाले दुनियामा हैकम गरेको कुरा संकेत गर्न सक्छौं । यसो भन्नाले संयुक्त राज्य अमेरिकाको जनतालाई हामीले भन्न खोजेको होइन । संयुक्त राज्य अमेरिकाको जनताको सहयोग विना विश्वमा क्रान्ति हुन सक्दैन । त्यहाँ पनि अहिले संघर्ष चलिरहेको छ । त्यहाँ पनि अहिले महिला आन्दोलन छ । त्यहाँ पनि युद्ध विरोधी आन्दोलन छ । त्यहाँका कालाहरु संसारको कुनै पनि लडाईमा सहभागी हुन तयार छन् । तिनै कालाहरुको क्रान्ति चेतनाले गर्दा हामीले ओबामाको आगमनलाई आशाको नजरले हेरेका थियौ । ओबामाको आगमन नेपालमा माओवादीको आन्दोलन दिशाविहिनता भए जस्तै भयो । यस्ता सारा आन्दोलन र संघर्षलाई तुहिएको देख्दा झन यो कुरा गहिरिएर बुझिन्छ हामीलाई समाजवादी नव चिन्तनको खाँचो छ ।
संसारमा प्रत्येक देश भित्र विभिन्न प्रकारका आन्दोलन छन् । कुनै रुढ भाषा र शब्दावलीमा सबै आन्दोलनलाई समेटन खोज्दा आन्दोलन समेटिदैनन् । कसैले यी सबै आन्दोलनलाई माक्र्सवादले नेतृत्व देलान भन्लान । कसैले समाजवादले देला भन्लान । कसैले गान्धीवादको आग्रह गर्लान । यस्ता सबै आग्रह प्रतिउत्पादक हुनेछन् । कुनै आन्दोलनको नामले संज्ञाले र व्याकरणले आन्दोलन हुने होइन । उल्टो आन्दोलनले त्यस्ता नामलाई सृजना गर्दछ । आन्दोलनको अगाडी नाम राख्नु भनेको बग्गीको पछाडी घोडा राखेजस्तै हो । मुख्य कुरा आन्दोलनको मर्म हो त्यसपछि नाम आउँछ । नेपालको ६२ – ६३ को आन्दोलन सामान्य जनआन्दोलन थिएन । त्यसलाई विचारधाराको रुढ चश्माले हेर्दा काग्रेस र एमालेले उदारवादको नजरले हेर्न खोज्यो त्यहाँ ऊ असफल भयो । माओवादीले रुढ माओवादको नामवाट हेर्न खोज्यो त्यहाँ ऊ असफल भयो । त्यस्तो गल्ती नगरीकन हामीले आगामी आन्दोलनको स्व्ाागत र तयारी गर्नु परेको छ । हामी आन्दोलन संग हिडने हो । नेतृत्व सम्म दिने कोशिस गर्ने हो । आन्दोलनलाई आफूखुसी डोर्याउन खोज्दा प्रचण्डको प्रधानमंत्रीत्वको पुनराबृत्ति हुन्छ ।
आगामी आन्दोलन कुनै पनि हालतमा एकात्मक हुन सक्दैन । समाज र राष्ट्रमा विद्यमान बहूमुखी शक्ति र प्रबृत्तिले गर्दा अबहुने आन्दोलनमा अनिवार्य रुपमा बहुलवादी हुन्छ । एउटा पार्टी विशेष जतिसुकै लोकपि्रय भएपनि त्यस पार्टी विशेषको एकाग्र नेतृत्वमा हुने आन्दोलनले सिंगो समाजलाई डोर्याउन सक्दैन । त्यसैले हामीले बहुलवादी विचारधारा र बहुलवादी पार्टीहरुलाई स्वीकार गर्दै जानुपर्दछ । यस्तो बहुलवादी विचारधारा राखेर बनाइने संघर्षले समान्यतया समाजमा अस्थिरता उत्पन्न गर्दछ । हाम्रो जस्तो मूलुकमा अस्थिरता र स्थिरतामा कुन राम्रो भन्ने प्रश्न यसै पनि छदैछ । अस्थिरताको दर्मियान समाजमा उथलपुथल हुन्छ, वर्ग र जातिहरु तलमाथी हुन्छन् त्यो पनि स्वागत योग्य कुरा हुन्छ । लामो समयको अस्थिरताले हाम्रो जस्तो साना राष्ट्र राज्यलाई विदेशीले खेलाई रहन सक्छन् । विदेशीले खेलाई राख्दा, जुनसुकै महाशक्तिले खेलाई राख्दा पनि मानिसको लोकतान्त्रिक चेतना कुण्ठित भएर जान्छ । प्रजातन्त्रवाट हामी लोकतन्त्रमा पुग्न नै सक्दैनौं । अझ गणतन्त्रमा जाने कुरा त कहाँ छ कहाँ । र, यस अवस्थामा हामीले राष्ट्रिय राजनीतिको अबस्थामा पनि जोड दिनु परेको छ । राष्ट्रिय राजनीतिको स्वायत्ततालाई राख्नका लागि एकातर्फ हामीले बहुलवादलाई सम्मान गर्नु पर्दछ भने अर्को तर्फ एउटा मजबुत कार्यकारीको कल्पना गर्नु पर्दछ । त्यसो हुनाले जहिले पनि कार्यकारीको निर्वाचन सदन वा संसदमा भन्दा पनि आम जनतावाट प्रत्यक्ष रुपमा चुनिएको राम्रो हुन्छ ।
संसारमा देखिएको भुमण्डलीकरणले अहिले स्थानीय आन्दोलनलाई बढावा दिएको छ । भुमण्डलीकरणको बढदो चापसंग प्रतिरोध गर्नका लागि लडनका लागि साना साना समुहले अिस्मता खोजी रहेका छन् । स्थानीय भाषा, संस्कृति,सीप कला समेतको कुरा उठी रहेको छ । कदाचित यसै भुमण्डलीकरणको प्रहारले गर्दा उत्तरआधुनिकतावाद बलियो भएको हो । तर, उत्तर आधुनिकतावादले परिवर्तनलाई समाहित गर्न सकेको छैन । होइन भने विविधतामा मात्र एकता हुन सक्छ भन्ने तथ्य हामीले विर्सिनु हुदैन । मानिस विविध छ । त्यो विविधतालाई सम्मान गरेर मात्र हामी एक हुन सक्छौं । तर विविधताको नाममा एक हुनुपर्ने अनिवार्यतालाई पनि विर्सन सकिदैन । माक्र्सका रचनामा यो कुरो अनेकौं पटक उल्लेखित छ ।
उपरोक्त सबै कुरा गर्नको लागि हामीलाई सर्वप्रथम नव चिन्तन चाहिन्छ । भएका विचारधारामा कुनै जीवन्त छ भने माक्र्सवाद नै छ । हामीले माक्र्सवादको निष्कर्ष होइन माक्र्सवादको चिन्तन प्रणालीलाई ग्रहण गर्नु पर्दछ । माक्र्सले आफ्नो चिन्तन प्रणालीलाई प्रस्तुत गर्ने क्रममा एक ऐतिहासिक वाक्य भनेका थिए । मनुष्यले अनेकौं प्रकारले विश्वमा चिन्तन गरिसके आज चिन्तनको खाँचो छैन । आज दुनियाँलाई बदल्ने खाँचो छ । अब भन्नु पर्छ ्, दुनियाँ अचाक्ली बदलिइ सक्यो पहिले यो बदलावलाई बुझौं । माक्र्स आज आएको भए आजको दुनियाँलाई उनले चिन्नपनि सक्ने थिएनन् । आज एकपटक हामीले दुनियाँ बदल्नु मात्र होइन बदल्नु अघि हामीले कस्तो दुनियाँ बनाउन चाहेको हो भन्ने कुराको परिकल्पना पनि अत्यन्त आबश्यक भएर आएको छ । दुनियाँलाई आज सबभन्दा बढी एउटा नयाँ सपनाको खाँचो छ । सपना भन्नु कल्पना होइन । सपना विनाको मानिस बाँच्न सक्दैन । आजको हाम्रो समाजको आबश्यकता भनेको भावी समाजको तस्वीर हो । भावी समाज वर्तमान कै गर्भवाट निस्किन्छ । बर्तमानको गर्भमा के कस्ता भावी समाजका सम्भावना छन् ? त्यसतर्फ छलफल गर्नु पर्दछ । माक्र्सले पनि भावी समाजको रुपरेखा बनाएका थिए तर उनी कल्पनावादी थिएनन् । त्यो गर्नका लागि हामीले सिंगो बीसौं शताब्दीका यावत क्रान्ति, तेस्रो विश्वका यावत क्रान्ति र उथलपुथल, रुस र चीनको क्रान्तिले विश्वमा गरेको योगदान र खासगरी हिन्दुस्थानमा गान्धी, लोहिया र जयप्रकाशको नेतृत्वमा भएको जनआन्दोलनको हामीले अध्ययन गर्नु पर्दछ । र यो भन्नु पछि पर्नु हुदैन कि सबैभन्दा महत्वपूण हामीलाई २०६२ -६३ को जनआन्दोलन नै हुनेछ । त्यस शिक्षाको निर्देशन स्पष्ट छ नेपालमा हामीले समाजवादको वाटोमा हिडेर मात्र विकल्प भेटन सक्छौं । त्यो विकल्प कुनै निर्दलिय व्यक्तिको नेतृत्वमा हुन सक्दैन । थुप्रैदलहरुले साझा मोर्चा बनाउनु पर्दछ । थुप्रै दलहरुले साझा प्रोग्रामहरु बनाउनु पर्दछ । अर्को शब्दमा भन्ने हो भने कुनै न कुनै प्रकारको ढीला ढाला सबै अटाउने मोर्चा बनाउनै पर्दछ । माओत्सेतुङको शब्दमा भन्ने हो भने संयुक्त मोर्चाको जादुई हतियारको एउटा प्रयोग अझै बाँकी छ ।
(आइकोरको एशिया प्रशान्त क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको साम्राज्यवाद विरोधी सेमिनारका लागि कांग्रेस नेता गिरीले तयार पार्नुभएको कार्यपत्र )
From ONLINEKHABARThank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar
Comments
Post a Comment
Comment us and help for make it better!!