Skip to main content

सफलताका लागि इच्छाशक्ति



लक्ष्मी श्रेष्ठ

सञ्चालक
चण्डेश्वरी ह्याण्डी क्राफ्ट, काभ्रे 


              निरन्तरको परिश्रम उनको व्यवस्थापन दर्शन हो । सानो भए पनि हरेकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उनको मान्यता छ । यही कारण 'ह्याण्डी क्राफ्ट'का झोला र जुत्ता बनाउन सिपालु आफ्नै श्रीमान्को शीपलाई व्यावसायिक रूपमा प्रयोग गर्ने निधो गरिन् लक्ष्मी श्रेष्ठले । श्रीमान्ले काम गरेको हेरेर आफै झोला बनाउन सिकिन् उनले । शुरूमा श्रीमान्ले काम गरेर  फ्याँकेका धागोका टुक्रा जोड्दै यस क्षेत्रमा प्रवेश गरेकी उनी अहिले एक प्रतिष्ठित व्यवसायी बन्न सफल भएकी छन् । पोखरामा जन्मिएकी उनी विवाह गरेर २० वर्षअघि बनेपा आउँदा हातमा शीप थिएन । तर, शीप सिक्ने उनको तीव्र चाहनालाई कसैले रोक्न सकेन । अहिले उनी जिल्लामा प्रेरणादायी महिलाका रूपमा स्थापित हुन पुगेकी छन् । 'इच्छाशक्ति हुने हो भने असम्भव केही नहुने रहेछ,' लक्ष्मी भन्छिन् । त्यही मेहनतको परिणाम हो-चण्डेश्वरी ह्याण्डी क्राफ्ट ।

फुसदमा छोरीहरूलाई जुत्ता, झोला र स्वेटर बनाएर बित्ने उनको दिनचर्या अहिले बदलिएको छ । अहिले उनी आफ्नो संस्थामार्फत महिलालाई शीप सिकाउन थालेकी छन् । 'अहिले २० जना महिलालाई प्रशिक्षण दिन्छु,' उनी भन्छिन् । संस्थामा ६ जना महिलालाई उनले रोजगारी दिएकी छन् । मुलुककै सफल महिला उद्यमीको पङ्क्तिमा उभिन सफल उनी गतवर्ष बोस म्यागेजिनले छनोट गरेको सफल १ सय महिला उद्यमीमा पर्न सफल भएकी छन् ।उनले आफ्नो व्यवसाय घरको सानो कोठाबाट शुरू गरेकी हुन् । अहिले उनी आफ्नै पौरखले मासिक २५/३० हजार रुपैयाँ आम्दानी गर्छिन् । केटाकेटीका लागि चाहिने टोपी, जुत्तालगायतका सम्पूर्ण पोशाक उत्पादनका लागि प्रसिद्ध छ उनको संस्था । उनको संस्थाले एक जोर पोशाक रू. ९ सयमा बेच्दै आएको छ । उनको शीप देखेर काभ्रे आउने विदेशी पर्यटक पनि प्रभावित छन् । फरक खालका 'डिजाइन' गर्न सके व्यवसाय अझ सफल हुँदै जाने उनको बुझाइ छ । 'मेरै मेहनतले बनेको हो यो घर,' उनी भन्छिन् ।

रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने मानिसका लागि उनी गतिलो जवाफ बनेकी छन् । नेपालीको इच्छाशक्ति गरीब रहेको लक्ष्मीको तर्क छ । 'हरेक समस्याको समाधान आफ्नै अगाडि छ, हामीले पहिल्याउन सकेका छैनौं,' उनी भन्छिन् 'जागीरका लागि सरकारको मुख ताक्नु हुन्न ।' केही समयअगाडि उनलाई बनेपा नगरपालिकाले प्रशिक्षकका रूपमा काम गर्न आग्रह गरेको थियो ।तर, त्यसलाई उनले स्वीकार गरिनन् । 'बरु सानै लगानीको भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ,' उनी भन्छिन् । त्यही मान्यतालाई आधार मान्दै उनले छोरीलाई 'फेशन डिजाइन' पढाएकी छन् । 'ममीले जुन शीप सिक्नुभयो र सफलता प्राप्त भयो, त्यसलाई अझै टेवा दिन मेरो पढाइले सहयोग गर्नेछ,' उनकी छोरी काजोलले भनिन् । बनेपा नगरपालिकामा भिन्न डिजाइनकर्ताको छवि बनाउन सफल छिन् उनी । हातेशीपलाई प्रवर्द्धन गर्न सके मुलुकमा महिला बेरोजगारी कम हुने धारणा उनको छ । चुनौतीको सामना गर्न नसक्नेहरूको जीवन सार्थक नहुने उनको बुझाइ छ । सभ्य समाज निर्माणका लागि महिलाहरूमा चेतना, ज्ञान र शीप आवश्यक छ, उनी भन्छिन् ।  व्यवसायलाई अझ बृहत् पारेर महिलालाई रोजगारी दिने लक्ष्मीको चाहना छ । 'मानिसहरू रोजगार-रोजगार भन्दै खोइ किन भौंतारिरहन्छन्,' उनी अर्काकै काम गर्नुपर्छ भन्ने मानसिकताप्रति गुनासो गर्दै भन्छिन् । स्वाभिमानका साथ बाँच्ने उपाय भनेको व्यवसाय नै भएको उनको धारणा छ । महिला सशक्तीकरणका लागि एकताबद्ध हुनुपर्ने बताउँछिन् उनी ।

घरमा गृहिणीका रूपमा मात्रै सीमित नभई महिलाले शीप सिक्नुपर्छ भनेर उनी प्रेरित गरिरहन्छिन् । 'आधा आकाश ओगट्ने महिलाको हातमा शीप भए मुलुक आर्थिक रूपमा सबल हुन्थ्यो,' उनी भन्छिन् । आफ्नो संस्थामा आउने महिलालाई शीप मात्रै होइन, बोल्न र हिसाबकिताब गर्न पनि सिकाउँछिन् । 'बोल्नेको पीठो बिक्छ तर नबोल्नेको चामल बिक्दैन,' उनी शीप सिक्न आउनेलाई आआफ्नो ठाउँमा अग्रसर हुन आग्रह गर्दै भन्छिन् । समाजमा प्रोत्साहन दिनेभन्दा खुट्टा तान्ने बढी भएकोमा दुखेसो गर्छिन् । राज्यले ग्रामीण क्षेत्रका महिलालाई रोजगारीमूलक शीप सिकाउन ध्यान दिनुपर्ने उनको धारणा छ । ईश्वरप्रति अगाध आस्था छ उनमा । फुर्सदको समयमा प्रेरक व्यक्तित्वका जीवनी पढ्छिन् । उनको रुचिको क्षेत्र समाजसेवा हो । तर, समाजसेवामा लाग्ने आफ्नो बेला भई नसकेको उनको भनाइ छ । 'समाजसेवा गर्न त पहिले आफू सक्षम हुनुपर्छ,' उनी भन्छिन् ।
Thank you for Visiting Us. Comment us @ http://www.facebook.com/subichaar

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.