बिपी कोइरालाले लोकतान्त्रिक किसिमबाट व्यवस्थित रूपमा समाजवाद स्थापनाका लागि वैचारिक, आर्थिक, दार्शनिक र साहित्यिक क्षेत्रको नेतृत्व गर्नुभएको थियो । उहाँको लक्ष्य जनताको सम्पत्ति सरकारले लिएर समानता होइन, सबै जनताका आधारभूत आवश्यकता पूरा गरेर सम्पत्तिको समान वितरण थियो । यो समानताको पूर्वाधार विकास, एकता, मेलमिलाप आदि हुन् । यसका लागि सहकारी बलियो आधार हुन सक्छ भन्ने उहाँको मान्यता रहेको हो । साम्यवादमा लोकतन्त्र थपिएमा त्यो समाजवाद हुन्छ भन्ने उहाँको बलियो विश्वास थियो । समाज विकासका क्रममा लोकतन्त्र र बहुलवादले द्वन्द्वात्मक भौतिकवादलाई स्वाभाविक र अपेक्षाकृत शान्तिपूर्ण किसिमले व्यवस्थित गर्छ र समाजलाई सबैभन्दा छिटो रूपान्तरण गर्ने माध्यम यही नै हो भन्ने विश्वका अनुभवले देखाएका छन् । बहुलवादको पूर्ण इमानदारीसाथ भएको अनुसरणले समाजलाई अझ व्यवस्थित गर्न सकिन्छ ।
नेपाली कांग्रेस स्थापनाका प्रमुख योजनाकार र वैचारिक आधार उहाँ नै हुन भएको हो । संगठन र वैचारिक स्पष्टताका लागि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको हो । साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ भनेर समानतालाई लोकतन्त्रले मात्र ग्यारेन्टी गर्न सक्छ भन्ने जनतालाई बुझाउन उहाँको प्रयास रह्यो । विकास र समानताको समायोजन आवश्यक छ र यसो भएन भने समानता गरिबीको वितरणजस्तो मात्र हुन पुग्छ भन्नेमा उहाँ अत्यन्त प्रस्ट हुनुहुन्थ्यो । यो पक्षलाई अहिले चीनले पनि अँगालेको छ । उहाँ राजनीतिज्ञले आँखा र कान खुला राख्नुपर्छ भने
र राजनीतिलाई धर्म र संस्कार होइन, वैज्ञानिक रूपले हेर्नुहुन्थ्यो र हेर्न सिकाउनुहुन्थ्यो । समाजवादल्ााई समय र परिस्थितिअनुसार विकास र परिष्कृत गर्नुपर्ने हुन्छ । उहाँको विचारलाई हामी यसरी पनि बुझ्न सक्छौँ कि औषधि विज्ञानमा होस् वा यातायात क्षेत्र वा अरू कुनै क्षेत्रमा होस्, नयाँ प्रकारको बढी फाइदाजनक सोच र पद्धतिको विकास भएमा हामी खुसीसाथ नयाँ प्रकारको पक्षलाई आत्मसात् गर्छौं र पुरानोलाई सजिलैसँग छाड्छौँ । विज्ञानका अन्य विधामा पनि अझ आधुनिक विचार आउनासाथ पुरानोमा माया रहँदैन र नयाँ विचारलाई वा तकनिकीलाई अपनाइन्छ । राजनीतिमा यो झन् आवश्यक हो । यसका लागि वातावरण भनेको लोकतन्त्र र बहुलवाद नै हो । राजनीतिमा जनउपयोगी र जनहितकारी विचारलाई स्वाभाविक रूपमा स्वीकार गर्नु,
त्यस्तो अवस्थाका लागि आफू तयार रहनु नै लोकतान्त्रिक समाजवादको लक्ष्य हो भन्ने महामानवको मूलमन्त्र हो । उहाँले लोकतान्त्रिक समाजवादको लक्ष्य भनेको जनताको सर्वोत्तम हित हो, यसका लागि र मानिसका आवश्यकता कमसेकम मूलभूत विषयमा समान छन् भन्ने मान्यताबाट राजनीतिक र आर्थिक यात्रा सुरु हुनुपर्छ भन्ने मान्यता लिनुभएको हो । ती आवश्यकता पूरा गर्दै बढीभन्दा बढी समानताका लागि काम गर्नुपर्छ भन्न्ो मान्यता बिपीको मान्यता हो ।
त्यस्तै, बिपीले उतिखेरै भन्नुभएको थियो कि राजालाई लोकतन्त्र चाहिँदैन भने जनतालाई पनि राजतन्त्र चाहिँदैन । हाम्रो लडाइँ सधैँ राजासँगै हुने हो भने राजसंस्थालाई किन मान्ने ? लडाइँ नै गर्नुपरे पनि अर्कोसँग गर्ने । यसले बिपीको राजसंस्थाप्रतिको सोच रणनीतिक थियो भन्ने प्रस्ट हुन्छ । राजसंस्था वा कुनै पनि पक्षलाई समानताको र राष्ट्रियताका पक्षबाट उहाँले हेर्ने गर्नुभएको हो ।
समानताका सम्बन्धमा महामानव बिपीले प्रस्ट पार्नुभएको छ । उहाँका अनुसार समाजवादको एउटा लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ, त्यो हो समानता । समानता भनेको राजनीतिक समानता, आर्थिक समानता । समानताका दुईवटा पूर्वावस्था छन् ।
क) समाज दैवी संरचना होइन । त्यो विशुद्ध भौतिक व्यवस्था हो, जसको उद्देश्य हो, समाजका सदस्यको सर्वाधिकार कल्याण र सुरक्षा । कल्याण र सुरक्षाको अर्थ शुद्ध भौतिक छ, आध्यात्मिक होइन ।
ख) समाजका सदस्यहरूको आकांक्षा र आवश्यकता प्रायः समान हुन्छन् । अर्थात् खाने, लाउने, बस्ने आश्यकता प्रायः सबैको हुन्छन् । उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्रायः समान हुन्छन् । जसका लागि आफ्नो वृत्ति विकास गर्न सबैले समान अवसर पाउनुपर्छ ।
बिपीले समाजवादलाई राजनीतिक रूपामा लोकतन्त्र र आर्थिक रूपमा विकास र आर्थिक समानताको फ्युजन हो भन्ने धारणा राख्नुभएको छ । विकासविनाको समानता गरिबीको वितरण वा गरिब बनाउने समानता हुन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र उचित वातावरण समाजवादको न्यूनतम लक्ष्य भने हुँदै हो । कम्युनिस्टले पनि समाजवाद भन्ने गरेको सवाल उठ्न सक्छ । उहाँका अनुसार कम्युनिस्ट र समाजवादीमा एउटा प्रमुख भिन्नता छ, त्यो हो समाजवादी आफूले नराम्रो गरेमा वा राम्रो गर्न नसकेमा वा अझ राम्रो विचार आएमा त्यसलाई सैद्धान्तिक रूपमै आत्मसात् गर्न सक्नुपर्छ भन्नेमा प्रस्ट हुन्छन् । राम्रो गर्न सक्नेलाई पनि नराम्रो गरेमा जनताले मतका माध्यमबाट हटाउन सक्ने आवश्यकतालाई अपरिहार्य मान्छन् र यस मान्यतालाई आफ्नो लक्ष्यमा राख्छन् । त्यसले नयाँ विचार र उपयुक्त सोचलाई बढावा दिन्छ, जुन विकास र समानतालाई राम्रोसँग अगाडि बढाउने माध्यम हो ।
कम्युनिस्टको समाजवाद भनेको एकदलीय तानाशाही व्यवस्था हो जसमा सर्वहाराको अधिनायकत्वका नाममा नेताहरूको गरिब जनतामाथि अधिनायकत्व हुन्छ । जनअधिनायकत्वका नाममा कम्युनिस्टहरूको अधिनायकवाद चल्छ र सर्वहारालाई वास्तवमा दासका रूपमा व्यवहार हुन्छ । लोकतन्त्र नहुँदा गरिबहरूको दल र नेता छान्ने अधिकार हुँदैन र कम्युनिस्टले नै देशमा एकछत्र राज गर्छन् । कम्युनिस्ट व्यवस्था गरिबविरोधी व्यवस्था भएकाले नै गरिबलाई आफूहरूको भन्दा राम्रो विचार आएमा वा उनीहरूभन्दा बढी गरिब हितकारी विचार अएमा शान्तिपूर्ण रूपमा मत दिएर सत्तामा पठाउने अधिकार दिँदैनन् । उहाँको दर्शनको चुरो यो पनि हो ।
महामानव बिपीले राष्ट्रियताका सम्बन्धमा प्रस्ट धारणा राख्नुभएको छ । उहाँका अनुसार, राष्ट्रियताको भावनात्मक पक्ष यस्तो छ ।
१. जनता
२. जनताको अगाडि उपस्थित समस्या
३. त्यसलाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र
४. त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्त्व हुन् ।
साहित्यमा समेत बिपी जहिले पनि समानता, गरिबमुखी विकास, मानवअधिकार लैंगिक समानता र शान्तिका पक्षमा रहनुभएको पाइन्छ । मोदिआइनमा उहाँले विनाशबाट शान्ति होइन, एकताबाट मात्र शान्ति र विकास तथा समानता सम्भव छ भन्ने कुरा गैरराजनीतिक रूपमा उल्लेख गर्नुभएको छ । तीन घुम्तीमा महिलाको समानताका पक्षमा उहाँको कलम बेजोड रूपमा चलेको छ । सुम्निमामा मानवीय समानता र मानवताका पक्षमा उहाँ उभिनुभएको छ । विभिन्न कथामा गरिबको हित नहुने विकास विकास नै होइन भन्ने तथ्यलाई पुष्टि गर्नुभएको छ ।
अहिलेको परिप्रेक्षमा महामानव बिपीले लिएको लक्ष्य र बाटो नै विश्व र नेपालको बाटो हो भन्ने देखिएको छ । नेपालका सन्दर्भमा अहिलेका सबै राजनीतिक शक्ति मिलेर कसैले कसैलाई निषेध नगर्ने र विकास र समानताको पक्ष अवलम्बन गरेपछि समाजप्रतिकूल विचार आफैँ हराएर जान्छ र स्वतः बिलाउँछ भन्ने उहाँको मान्यतालाई हामीले आत्मसात् गर्न सक्नुपर्छ । बिपीको लक्ष्य र देशको आवश्यकता पनि यही नै हो ।
sobhakarp@hotmail.com
Comments
Post a Comment
Comment us and help for make it better!!