आऊ मिलाऊँ हातहरु

गोपाल सिवाकोटी

अति भो! त्यसैले दलहरु हो, मिलौँ! थोरै कुरामा भए पनि मिलौँ। मिल्नेजति कुरामा मात्रै भए पनि मिलौँ। शान्तिप्रक्रिया पूरा नभएसम्म भए पनि मिलौँ। संविधान नलेखिएसम्म मिलौँ। नयाँ संविधानअनुसार नयाँ निर्वाचित सरकार गठन नभएसम्म मिलौँ।
राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, सीमा संरक्षण र राष्ट्रिय समृद्धिका निमित्त सबैसँग मिलौँ। लोकतन्त्र र मानवअधिकारका आधारभूत सबालमा नेपाली कांग्रेससँग पनि मिलौँ। जातीय, क्षेत्रीय, छुवाछुत र लैंगिक मुद्दामा उनीहरु सबैसँग मिलौँ। प्रगतिशील संविधान र राष्ट्रिय स्रोतसाधनको उपयोग, क्रान्तिकारी भूमिव्यवस्थापन र सही परराष्ट्रनीति निर्क्योल गर्न सबै वामपन्थीहरू मिलौँ। शान्तिपूर्णरूपमा मुलुकमा प्रगतिशील रूपान्तरण गर्न सकिने विश्वमा कतै नभएको यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्न जसरी भए पनि मिलौँ। पार्टीभित्रका नेता र कार्यकर्ताहरू त झनै छिटो मिलौँ। गुट र उपगुटको जञ्जालभित्र फस्नुभन्दा साझा एकताको सञ्जालमा मिलौँ।

हो, नमिल्नु पर्ने, गुटबन्दी गर्नुपर्ने र फुट्नुपर्ने दार्शनिक, सैद्धान्तिक र वैज्ञानिक कारणहरू धेरै होलान्। अर्को कुरा, आफू, आफ्नो विचार, योजना र महत्वाकांक्षालाई विज्ञानसम्मत बनाउनुपर्‍यो भने त्यसका निमित्त जति पनि तर्कवितर्क गर्नसकिन्छ। तिनलाई जति पनि सैद्धान्तिकीकरण गर्न सकिन्छ। तर, कहिलेकाहीँ दर्शन, सिद्धान्त र विज्ञानबाट पनि थोरै बाहिर आउनुपर्ने हुन्छ। संघर्ष र क्रान्तिका निमित्त बाहिरी वस्तुगत अवस्थाको पनि गहिरो अध्ययन र विश्लेषण गर्नुपर्ने हुन्छ। अहिले हामी नेपालीहरूमा आन्दोलन र परिवर्तन भनेपछि एक किसिमको थकान महसुस हुन थालेको छ। यो कुरा पनि बुझौँ।
यस थकानका पछाडि केही ठोस कारण छन्। पहिलो कुरा, अहिलेको पहिलो पुस्ताले आफ्नो छोटो जीवनकालमा चार पटक सत्ता फेरिसकेको छ भने हाम्रो दोस्रो पुस्ताले तीन पटक। पहिलो जहानियाँ राणाशासन २००७ सालमा फालियो। २०१७ सालमा स्थापित निरंकुश पञ्चायती सत्तालाई २०४६ सालमा ढालियो। २०४७ सालमा स्थापित पश्चिमा बुर्जुवा ढाँचा र नेपाली सामन्तवादमिश्रित बहुदलीय संसदीय तानाशाही व्यवस्थालाई २०६३ मा ढालियो। २०६५ सालमा त त्यही बुर्जुवा संसद्मार्फत नै २ सय ४० वर्ष पुरानो राजतन्त्र ढालियो। तर, पछिल्लो परिवर्तनले पनि हामीलाई थोरै दालभात, थोरै अधिकार र थोरै शान्तिसमेत दिँदैन भने हामी फेरि के खान लड्ने? कसका लागि लड्ने? कसका विरुद्ध लड्ने? कहिलेसम्म लड्ने? एउटै पुस्ताले चारचार पटक सत्तापरिवर्तन गरेका उदाहरण संसारमा विरलै पाइन्छन्। त्यो पनि अन्य देशका तुलनामा खासै ठूलो रक्तपातपूर्ण संघर्ष नगरीकन! अब फेरि त्यही कुराका लागि कति चोटि लड्ने?
अहिले हामी सबै मिल्ने बेला हो। राष्ट्रिय हितका खातिर जसरी भए पनि मिल्ने। नत्र भने हामी र हाम्रो देश छिटै घरेलु तानाशाह, छिमेकी विस्तारवाद र अन्तर्राष्ट्रिय साम्राज्यवादको चंगुलमा नराम्ररी फस्ने निश्चित छ। अहिलेको विश्व मार्क्स, लेनिन, माओ, हो चि मिन्ह, टिटो, चे र क्यास्ट्रोको समयभन्दा फरक छ। समग्र क्रान्ति गरेरै सत्ता कब्जा गर्ने हो भने पनि यसको शैली र स्वरूप विगतभन्दा भिन्न हुन जरुरी छ। यो कुरा हाम्रो चाहनामा मात्र नभएर आत्मगत सामर्थ्य र वस्तुगत अवस्थामा भर पर्छ। अहिले हामीले सोच्ने र गर्ने कुरा एउटै छ, त्यो हो जसरी भए पनि शान्तिप्रक्रियाको सफलता र प्रगतिशील संविधान निर्माण। सरकार र माओवादीबीच भएका १२ बुँदे र त्यसपछि भएका बृहत् शान्ति सम्झौता एवं अन्तरिम संविधानको अक्षरशः पालना गर्दै यी दुई कार्य अविलम्ब सम्पन्न हुँदैनन्। त्यसपछि हुने संघर्षको अनिवार्यतालाई कसैले रोक्न सक्दैन। मुलुक त्यसपछि अहिलेको अवस्थामा रहन्छ वा रहन्न त्यो भन्न सकिन्न। त्यसभन्दा पहिले जो सकेको सबै गरौँ, तर मिलौँ।
कुरा रह्यो मिल्ने कसरी? मिल्ने नै हो भने मिल्न धेरै सजिलो छ। नमिल्ने हो भने ६० वर्ष नाघेका सबै नेताले अब राजनीतिबाट सन्न्यास लिन जरुरी छ। मुलुकलाई जोगाउँदै कसरी समृद्धिको बाटोमा लैजाने भन्ने स्पष्ट खाका र योजना हामीसँग छ, अर्थात् अहिलेको नयाँ राजनीतिक, बौद्धिक र वैज्ञानिक पुस्तासँग छ। अहिलेका सचेत, शिक्षित र जागरूक युवासँग छ। आफू पनि नगर्ने र नयाँ पुस्तालाई पनि गर्न नदिने हो भने अब आगामी भदौ १४ पछिको आन्दोलन यिनै ६० वर्ष नाघेका नेताविरुद्ध केन्द्रित हुन जरुरी छ। यस सँगसँगै ५० वर्ष नाघेका सबै सरकारी पदाधिकारी, प्रशासक र कर्मचारीलाई पनि बिदा दिन जरुरी छ। आजको विज्ञान, प्रविधि र विशेषज्ञताको जमानामा पहिलेकै जस्तो सरकारी कार्यालयमा भेला भएर बिहानदेखि बेलुकासम्म चुरोट र बिँडीका ठूटा तान्दै चना र चिउरामात्र खाएर बस्ने जमातबाट अब नयाँ नेपालको प्रशासन कदापि हाँक्न सकिन्न।
हामीले अब एउटा आन्दोलन राष्ट्रिय पुनर्जागरणका नाममा बौद्धिक तहबाट, शिक्षक र प्राध्यापकहरूबाट, पढेलेखेका सामाजिक अभियानकारी र युवाबाट गर्न जरुरी छ। विद्यमान विकृति र विसंगतिविरुद्ध आजै र अहिले नै लड्न जरुरी छ। सबैलाई आधारभूत नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूबाट सुसज्जित गराउँदै हामी दोस्रो पुस्ताका नेपालीहरूले कम्तीमा पनि आगामी दुई दशक देशको समग्र सुरक्षा, राष्ट्रिय एकता र आर्थिक समृद्धिमा लगाउन जरुरी छ। त्यसपछि यस मुलुकलाई कस्तो किसिमको क्रान्ति र परिवर्तनको आवश्यकता पर्छ तथा त्यसको नेतृत्व कसले र कसरी गर्छ भन्ने निर्धारण हुनेछ।
नत्र भने हाम्रो उमेर सधैँभरि सत्ता, सरकार र व्यवस्था फेर्दैमा बित्ने भयो! एकदुई जना मात्र पनि राजनेता जन्माउन, हुर्काउन र तिनलाई बचाउन नपाउँदैमा बित्ने भयो! बीपी राजनेता थिए तर काम गर्न पाएनन्। पुष्पलाल राजनेता हुनसक्थे तर कहिल्यै पालो आएन। मदन भण्डारी पनि राजनेता हुनसक्थे, उनको हत्या गरियो। अहिलेको कठिन परिस्थिति र जटिल राजनीतिमा प्रचण्डले एक राजनेताकै भूमिका निर्वाह गरिरहेका छन्। तर, प्रधानमन्त्री भएदेखि उनीविरुद्ध सबै अरिंगालको गोलोझैँ खनिए। यो क्रम अहिले झनै तीव्र छ। भविष्यमा अरुको पनि पालो आउँछ भन्ने कतिपय नेताले बिर्र्सेझैँ लाग्छ। प्रधानमन्त्रीको दौडमात्रै आफैँमा ठूलो कुरा होइन! मुख्य कुरा साथी र साथ पाउनु हो। कामै गर्न नदिने हो भने त कसैले पनि काम गर्न सक्दैन। स्वयं मार्क्स, लेनिन, माओ र गान्धीलाई नै ल्याएर नेपालमा विराजमान गराए पनि काम हुन सक्दैन।
यो मेरो आग्रह कसैकसैलाई असैद्धान्तिक, अराजनीतिक र अवैज्ञानिक लाग्न सक्छ। त्यो मेरो समस्या होइन। मेरा पनि आफ्ना दार्शनिक, सैद्धान्तिक र राजनीतिक आस्था र विश्वास होलान्। देखिसकियो, विचार र सिद्धान्तको मात्र वकालत गरेका कारण २००७ सालदेखिको हाम्रो सामान्य बहुदलीय व्यवस्थामात्र स्थापना गर्ने सपना पनि अधुरै छ। क्रान्तिका कुरा त कता हो कता! हामीले २००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलन, १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको शान्ति सम्झौताका आधारमा प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउन सक्यौँ भने हामी वास्तवमै विश्वमा सफल र शान्तिपूर्ण क्रान्तिको एउटा उत्कृष्ट नमुना हुनेछौँ। यसो नगरेर भत्काउनैमात्र लाग्ने हो भने त जे पनि भत्काए भो! जे बिगारे पनि भो! जति बिगारे पनि भो!
एक पटक सबै नेता र पार्टीहरू साझा सबालमा मिलौँ। भित्रदेखि बाहिरसम्म मिलौँ। तपाइँहरूलाई चारचार पटक सत्तामा पुर्‍याउने पुस्ताको मन राख्न पनि मिलौँ। बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको जगमा जसरी भए पनि मिलौँ। यसका लागि सबैभन्दा पहिले कमरेहरू नै मिलौँ! आवश्यक विचारहरू जोडौँ। अनावश्यक विवादहरू तोडौँ। अनि लोकतन्त्रवादीहरू पनि मिलौँ। वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर अस्थायी नै भए पनि नयाँ साझा बाटो खोजौँ।
(NAGARIKNEWS)

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय