Skip to main content

होसियार! मोबाइलले ज्यान लिन सक्छ

रामचन्द्र भट्ट, काठमाडौं, जेठ २९ - मोबाइल सेट किन्ने योजनामा हुनुहुन्छ? सस्तो पाइयो भन्दैमा बजारमा जथाभावी बिक्री भइरहेका र मापदण्ड नपुगेका सेट नकिन्नुहोला। नत्र, तनहुँमा जस्तै मोबाइल पड्किएर दुर्घटनाको सिकार हुन के बेर? पछिल्लो समय मोबाइल सेट पड्किने घटना बढिरहेका छन्। यसबाट मानवीय क्षतिसमेत भएको छ। त्यसमा पनि नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' र बिक्री गर्ने स्वीकृति नलिइएको स्काई ब्रान्डका सेट पड्किएका छन्।

प्राधिकरण इन्जिनियरिङ शाखाका उपनिर्देशक कविन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा मोबाइल सेट बेच्न नोकियाका ७३ मोडल, एलजीका ३२ मोडल, कोन्काका ७, भिकलका ७, जेडटिईका दुई, सिजी, ब्ल्याकबेरी, बर्ड, एचपीका एक/एक मोडलले मात्र स्वीकृति लिएका छन्। प्राधिकरणमा दर्ता गरेर स्वीकृति लिएका सेटमात्र बेच्न पाउने प्रावधान छ। मापदण्ड नपुगेका र तोकिएको सुरक्षा प्रावधान नभएका मोबाइल सेटले प्राधिकरणबाट टाइप एप्रुभल पाउँदैनन्।

प्राधिकरणले दुई वर्षदेखि नेपालमा बेच्न ल्याइने सेट अनिवार्य रूपमा दर्ता गरेर टाइप एप्रुभल लिनुपर्ने व्यवस्था गरेको छ। तर, नियमन प्रभावकारी नहुँदा दर्ता नभएका र मापदण्ड नपुगेका सयौं मोडलका सेट बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेका छन्। प्राधिकरणले सुरु गरेको टाइप एप्रुभलको नीतिलाई भन्सार विभागले सहयोग नगर्दा समस्या देखिएको हो। 

'भन्सारले जनस्वास्थ्यको दृष्टिले भन्दा राजस्वको दृष्टिले जस्तोसुकै सेट, ब्याट्री, चार्जर ल्याउन दिइरहेको छ,' प्राधिकरणका अधिकारी भन्छन्। विदेशबाट आयात गर्नुअघि नै आयातकर्ताले त्यो मोडलको नमूना र त्यस मोडलको विवरणसहित प्राधिकरणमा निवेदन दिनुपर्ने नीति छ। प्राधिकरणले जिएसएम एसोसिएसनले तोकेको मापदण्डअनुसार त्यो सेट योग्य भएमात्र नेपाल भित्र्याउन अनुमति दिन्छ। अहिले यो प्रावधान सबै मोबाइल सेट आयात गर्दा कडाइका साथ लागू भएको छैन। 
'नियमनको क्षेत्रमा प्राधिकरण अलि पछि परेकै हो,' श्रेष्ठले भने। नेपालमा विभिन्न ब्राण्डका पाँच सय मोडलका मोबाइल बिक्री भइरहेका छन्। तर, एक सय २५ मोडलले मात्र स्वीकृति लिनुले अधिकांश सेट मापदण्ड नपुगेका र केही कम्पनीले टाइप एप्रुभल लिन लापरवाही गरिरहेको प्राधिकरणले नै स्वीकार गरेको छ।

प्राधिकरणले २०६५ को सुरुबाटै मोबाइल सेट आयात गर्दा अनिवार्य 'टाइप एप्रुभल' लिनुपर्ने प्रावधान लागू गरे पनि सबैले लिएका छैनन्। 'यो मोडलको सेट नेपालमा स्थानीय मोबाइल नेटवर्कको आधारमा बिक्रीका लागि योग्य छ' भनेर प्राधिकरणले दिने मान्यता टाइप एप्रुभल हो। प्राधिकरणबाट यस्तो प्रमाणित गरेपछि त्यस्ता सेटमा आउने जुनसुकै दुर्घटनाको क्षतिपूर्ति निर्माता कम्पनीले तिर्नुपर्छ। 

'हामीले बेच्न योग्य छ भनेर स्वीकृति दिएका मोडलका सेटबाट दुर्घटना भए क्षतिपूर्तिका लागि पत्राचार गरिदिन्छौं,' श्रेष्ठले भने। तर, स्वीकृतिबिना बेचिएका मोडलका सेटबाट हुने दुर्घटनाको जिम्मेवार सम्बन्धित कम्पनी नै हुने उनले बताए।

मोबाइल सेटबाट दुर्घटना हुन थालेपछि अब टाइप एप्रुभल नलिइएका सेटलाई भित्रिन नदिन भन्सारसँग सहकार्य थाल्ने र प्रहरीको सहयोगमा त्यस्ता सेटलाई हटाउन सुरु गर्ने तयारीमा प्राधिकरण छ। 'मुख्य कुरा उपभोक्ता जागरुक हुनुपर्‍यो, गुणस्तरीय सेट र ब्याट्री प्रयोग नभएको मोबाइलले ल्याउने दुर्घटनाबारे उपभोक्ता सचेत हुनु जरुरी छ,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। 

दुर्घटना नभए पनि मापदण्डअनुसार गुणस्तर नपुगेको सेटले मानिसको दिमागलाई समेत असर पार्छ। रेडियो फ्रिक्वेन्सीबाट चल्ने हुँदा यसलाई व्यवस्थित गर्न नसक्ने सेटको प्रयोगले तत्काल नभए पनि पछि मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने प्राविधिकले बताएका छन्। 

बजारमा मापदण्ड विपरितका सस्ता र गुणस्तरहिन मोबाइल सेट जथाभावी बिक्री बढेकाले पनि मोबाइलबाट देखिने यस्ता दुर्घटना बढिरहेका हुन्। सस्तो मूल्यका सेटमा सुरक्षाको संयन्त्र प्रभावकारी नहुने भएकाले जुनसुकै बेला दुर्घटना पर्ने सम्भावना हुन्छ। 

मोबाइल सेटबाट मानिसको मृत्युसमेतको घटनापछि प्राधिकरणले टाइप एप्रुभलको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। टाइप एप्रुभल लिन निर्माता कम्पनी 'जेन्युइन' हुनुपर्ने, ब्याट्री गुणस्तरीय हुनुपर्ने र सुरक्षासम्बन्धी सबै संयन्त्र सेटमा हुनुपर्ने शर्त छन्। अधिकांश कमसल चिनियाँ सेटमा यी कुनै पनि प्रावधान हुँदैनन्। यसले प्राधिकरणबाट लिनुपर्ने टाइप एप्रुभलमा चिनियाँ कमसल निर्माता कम्पनीहरू फेल हुन्छन्।
बजारमा तोकिएको मापदण्डविपरितका चार्जरबाट चार्ज गराउने र नक्कली व्याट्रीको समस्याले पनि बेलाबेला दुर्घटना हुने गरेको छ। सडक पेटीमा बेच्न राखिएका चार्जर, व्याट्री राखेर पनि मोबाइल चलाएको देखिन्छ। विज्ञहरुका अनुसार, यस्ता सेटहरु कुनैपनि बेला दुर्घटनामा पर्ने संभावना हुन्छ।

'व्याट्री र चार्जर गुणस्तरहिन'मोबाइल पड्केर मानिसको मृत्यु हुनुमा मोबाइल प्रयोग गर्ने सही तरिका प्रयोगकर्तालाई जानकारी र गुणस्तरीय व्याट्री नहुनु रहेको विज्ञहरुले बताएका छन्। 
चार्ज गरिरहेको समयमा मोबाइल टेलिफोनबाट कुराकानी गर्नु अत्यधिक जोखिमयुक्त हुने विज्ञहरुको सुझाव छ। 'यो साता भएका दुबै घटनामा चार्ज हुँदाहुँदै मोबाइल फोन प्रयोग गरेको देखिएको छ,' दूरसञ्चार प्राधिकरणका स्ट्यान्डराइजेशन प्रमुख कविन्द्र श्रेष्ठले भने।
गत सोमबार तनहुँमा चार्ज गरिरहेको मोबाइलबाट कुराकानी गर्दा एकजनाको मृत्यु भएको थियो। 'चार्ज भैरहेको समयमा फोन उठाउनुपरेमा चार्जरबाट छुटाएर कुराकानी गर्नुपर्छ, नत्र यस्ता दुर्घटनाहरु हुनसक्छन्,' उनले भने।
'चार्जरको तार जोडिराखेको अवस्थामा कहिल्यैपनि मोबाइलबाट कुराकानी गर्नुहुँदैन,' टेलिकमका मोबाइल सेवा निर्देशनालय प्रमुख जीवनरत्न शाक्यले भने। उनले चट्याङ परेको समयमा पनि मोबाइल प्रयोग नगर्न सुझाव दिएका छन्।
मोबाइल सुरक्षा टिप्सः- चार्जको अवस्थामा कुरा गर्नुपर्दा छुटाएर मात्र गरौं।
- चट्याङ परेको समयमा मोबाइल फोन नचलाऊ।
- मोबाइलका सक्कली सामानमात्र प्रयोग गरौं।
- अर्काको चार्जरबाट मोबाइल चार्ज नगरौं। 
- बत्ति जाने, आउने समस्या भैरहेको समयमा चार्ज नगरौं। 
- मोबाइलको सिग्नल कमजोर भएको ठाउँमा कुराकानी नगरौं।
- ल्याण्डलाइन भएसम्म मोबाइलबाट कुराकानी नगरौं।
- चार्जगर्दा गर्दा चिसो ठाउँमा नराख्ने।
nagariknews बाट 

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY