Skip to main content

जो चर्चामा रहे

कतिपय मानिस आफ्नो कर्म र कार्य क्षेत्रका कारण सदैव चर्चामा रहन्छन् भने कतिपय मानिसहरू परिस्थितिले सिर्जना गरेको अनुकूलतालाई उपयोग गरेर चर्चामा आउँछन् । यस्तो चर्चा सकारात्मक वा नकारात्मक दुवै प्रकृतिको हुन्छ । सकारात्मक चर्चाले व्यक्तिलाई अनुकरणीय बनाउँछ भने नकारात्मक चर्चाले कुनै पनि व्यक्तिलाई सामाजिक तिरस्कारको हदसम्म पुर्‍यान सक्छ । वर्ष २०६६ मा पनि आफ्नो विचार र कर्मले कतिपय नेपाली पदीय मर्यादाअनुकूल चर्चामा रहे भने कतिपय पदीय मर्यादाविपरीत चर्चित भए ।

नेपालको सन्दर्भमा वर्ष २०६६ मा सबैभन्दा बढी चर्चा राष्ट्रपति डा.रामवरण यादवले पाए । डा. यादव यो वर्ष पटक-पटक चर्चामा आइरहे । अन्तरिम संविधानले कुनै पनि शासकीय अधिकार नदिए पनि राष्ट्रपति डा.यादव तत्कालीन सरकार र सेनाबीचको विवादमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर चर्चामा आए । राष्ट्रपति डा.यादवले तत्कालीन नेकपा माओवादीको सरकारद्वारा गरिएको तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई बर्खास्त गर्ने निर्णय बदर गरेर मुलुकलाई क्षणिक समयका लागि ठूलै संवैधानिक संकटतर्फ लगे । राष्ट्रपति डा.यादवको उक्त निर्णयविरुद्ध नेकपा माओवादी सरकारबाट बाहिरियो भने उसले राष्ट्रपतिको कदम सच्याउन नागरिक सर्वोच्चताको नारा दिएर वर्षभरि नै सडक र सदनमा आन्दोलन गरिरह्यो । यसबाहेक राष्ट्रपति डा.यादव यसैवर्ष पूर्वराजा ज्ञानेन्द्र शाहका कतिपय विवादास्पद वक्तव्य एवं अन्तर्वार्ताहरूले सिर्जना गरेका राजनैतिक हलचललाई साम्य पार्ने कसरतमा पनि जुटेको देखियो ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल चर्चामा रहने अर्का व्यक्तित्व रहे । अघिल्लो वर्ष संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २  र रौतहट क्षेत्र नम्बर ३ बाट पराजित भएका एमालेका तत्कालीन महासचिव नेपाल राजनैतिक संयोग जुरेपछि प्रधानमन्त्रीको पदभार ग्रहण गर्न पुगे । अघिल्लो वर्ष आफ्नो र पार्टीसमेतको हारबाट आहत भएर पदबाट राजीनामा गर्दै राजनीतिमा नैतिकताको मापदण्ड निर्धारण गर्न पुगेका प्रधानमन्त्री नेपालले यो वर्ष मुलुकको सर्वोच्च शासकीय पद ग्रहण गरेर आफ्ना धेरै विरोधी तथा समर्थक दुवैलाई एकैपटक आश्चर्यचकित पारे ।

आफ्ना समर्थक तथा विरोधीलाई आश्चर्यचकित पार्ने काम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि गरे । मध्यरातमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने विषयमा राजनैतिक समीकरणले ३६ को तथ्यांक देखाएपछि पदबाट राजीनामा दिएका दाहाल यो वर्ष अन्तपार्टी द्वन्द्व, माओवादी जनसेनाका बारेमा दिइएका विवादास्पद वक्तव्यहरू, भारत विरोधी गतिविधि आदि कारणले थप चर्चामा आए । दाहालसँगै बर्खास्तगी प्रकरणमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल पनि आफ्ना अडानका कारण चर्चामा रहे । आफ्ना बयानहरू र कतिपय गतिविधिका कारण प्रधानसेनापति छत्रमानसिंह गुरुङ पनि वर्ष २०६६ मा छापाहरूमा छाइरहे । खासगरी सेनासँग सम्बन्धित कतिपय विषयमा सरकार एवं राजनैतिक दलहरूसँग विमति राख्दै आएका गुरुङको पछिल्लो अडानकै कारण माओवादी जनसेनाको पुनःस्थापना र समायोजनको विषय राजनैतिक रूपमा टाउको दुखाइ बन्दै गएको छ ।

राजनीतिमा चर्चाका लागि अवसर छोप्नुपर्छ भन्ने कुरालाई यो वर्ष उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सुजाता कोइरालाले पनि प्रमाणित गरे । तत्कालीन माओवादी नेतृत्वको सरकार ढलेपछि उत्पन्न राजनैतिक समीकरणको लाभ उठाउँदै गच्छदारले उपप्रधानमन्त्रीको हैसियत मात्र प्राप्त गरेनन् यसका लागि उनले आफ्नो पार्टी मधेसी जनअधिकार फोरममा पनि विभाजन ल्याए । त्यति मात्र होइन, पछिल्लो समयमा मुलुकलाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने विषयमा बयान दिएर गच्छदार थप चर्चामा आए । यस्तै चर्चा अर्की उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पाइन् । पिता गिरिजाप्रसाद कोइरालाको छत्रछायामा हुर्किएकी सुजाता कोइरालाको नेतृत्वमा सरकारमा जान नेपाली कांग्रेसले लो-प्रोफाइललाई समेत स्वीकार गर्‍यो । सरकारमा पुगिसकेपछि पनि आफ्नो पदोन्नतिको विषयलाई समेत राजनीतीकरण गरेकी सुजाता कोइरालाले यसबीच मेसिन रिडेबल पासपोर्ट प्रकरण र पिता गिरिजाप्रसाद कोइरालाको निधनका कारण थप चर्चा पाइन् ।

संविधानसभाको निर्वाचनपछि मुलुकमा संघीयताको कुरा सबैजसो राजनैतिक दलले चर्को रूपमा उठाए, तर यही संघीयताको विरोधमा देखापरे- राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी । केसीको अभियानले मुलुकमा ठूलै तरंग त ल्याएन् तर संघीयताले भविष्यमा पुर्‍याउन सक्ने चोटका बारेमा आम नेपालीलाई सोच्न बाध्य तुल्यायो । संघीयतासँगै धर्म निरपेक्ष तापनि विवादमा आयो । धर्म निरपेक्षतालाई नेपालको सन्दर्भमा अस्वीकार्य बताउँदै नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का खुल्ला रूपमै देखापरे । खड्काको राजनैतिक अभियानलाई साथ दिने सन्दर्भमा देखापरे कालिबाबा ।

खड्का र कालिबाबाले मुलुकलाई हिन्दु राज्यका रूपमा देख्न चाहेको विषयलाई सञ्चारमाध्यमले विशेष महत्त्व दिइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मुलुकलाई धर्म निरपेक्षताको बाटोमा लानु राष्ट्रिय एकताका दृष्टिले खतरनाक हुन सक्ने र राजतन्त्रको अवशेष कतै न कतै रहेको अन्तर्वार्ता दिएर आफ्ना लागि चर्चाको खेती गरे ।

राजनैतिक चर्चाको कुरा गर्दा युवराज लामा र करिमा बेगमलाई छुटाउन मिल्दैन । चलचित्र निर्माता युवराज लामाले कलाकारहरू कुनै पनि राजनैतिक वाद-विवादबाट टाढा रहनुपर्छ भन्ने मान्यताका विपरीत दर्जनौं नेपाली कलाकारलाई नेकपा माओवादीमा प्रवेश गराउन पर्दापछाडि विशेष भूमिका निर्वाह गरेर जस-अपजस दुवै भोगे । उता कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले वीरगन्जमा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीविरुद्ध हातपात गरेर अपजसको भागि बन्नुपर्‍यो । यस्तै अपजस युवा तथा खेलकुद सहायकमन्त्री चन्दा चौधरी तथा कलावती पासवानले पनि पाए ।

चर्चाको यो श्रेणीमा उपराष्ट्रपति परमानन्द झा र नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का पनि छन् । हिन्दी भाषामा गरिएको शपथ प्रकरणले निलम्बनमा परेका उपराष्ट्रपति झाले अन्ततः नेपाली भाषामा समेत शपथ ग्रहण गरेर आफ्नो पदीय मर्यादाको साखलाई जोगाए भने प्रेमबहादुर खड्काले नेपाल बार एसोसिएसनको प्रतिष्ठित निर्वाचनमा आफ्ना वामपन्थी प्रतिद्वन्द्वीहरूलाई पाखा लगाएर प्रजातान्त्रिक  शक्तिहरूलाई आश्वस्त तुल्याउने काम गरे ।

मानिसले राजनीति गरेकै कारण मात्र चर्चा पाउँदैन । राजनीतिबाट टाढा रहेर समाजका लागि उद्देश्यमूलक काम गरेर पनि चर्चा पाइन्छ भन्ने कुराको उदाहरण बने पुष्कर शाह, आप्पा शेर्पा र बालकृष्ण सुवेदी । एक सय रुपैयाँ र एउटा साइकलबाट विश्व भ्रमणमा निस्किएका दोलखाका पुष्कर शाहले अन्ततः आफ्नो लक्ष्य पूरा गरे भने आप्पा शेर्पाले आगामी सिजनमा एक पटक फेरि सगरमाथा आरोहण गरेर नेपाल भ्रमण वर्ष २०११ लाई सफल पार्न विश्वव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरे । शाह र आप्पाको गतिविधिले नेपाललाई विश्व परिवेशमा थप परिचित गराउने अपेक्षा गरिएको छ । यसैगरी स्याङ्जाको विकट गाउँमा जन्मिएर आयुर्वेदको अध्ययन र अनुसन्धानमा आफूलाई होमेका बालकृष्ण सुवेदीले यसै वर्षदेखि आफ्नो नेपाल अभियानलाई कार्यान्वयनमा ल्याए । योग गुरु रामदेवको सहयोगीका रूपमा विशेष ख्याति कमाएका सुवेदीको पछिल्लो अठोटले निकट भविष्यमा नेपाललाई आयुर्वेदको स्रोतका रूपमा विश्वव्यापी ख्याति दिने अपेक्षा गरिएको छ ।

चर्चा कमाउने अनेक उपाय र बाटाहरू हुन्छन् । कतिपय मानिस चुपचाप काम गरेर पनि चर्चा कमाउँछन् । यस्तै चर्चा ऊर्जा सचिव शंकरप्रसाद कोइरालाले पाएका छन् । नेपालको आफ्नै स्रोत र साधनले ठूलो जलविद्युत् आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने कुराका पक्षपाति कोइरालाको मेहनत अन्ततः तामाकोसी जलविद्युत् आयोजनाका रूपमा देखापरेको छ । तामाकोसीमा सरकारको लगानीका लागि सक्रिय कोइराला भोलिका दिनमा थप आयोजनाका लागि पनि सक्रिय रहने अनुमान गर्न सकिन्छ । यस्तै सक्रियता यो वर्ष उत्तम सञ्जेलले पनि देखाएका छन् । विगत एक दशकदेखि समता शिक्षा निकेतनमार्फत कम मूल्यमा स्तरीय शिक्षा उपलब्ध गराउने अभियानमा लागेका सञ्जेलको शिक्षा सञ्जालले यो वर्ष देशव्यापी हुने अभियान प्रारम्भ गरेको छ । निजी क्षेत्रको महँगो र असमान शिक्षाको पिरलोमा रहेका कतिपय अभिभावकका लागि सञ्जेल यो वर्ष आशाको नयाँ उज्यालोका रूपमा देखापरे ।

पछिल्ला केही वर्षयता नारी अधिकारका पक्षमा चलेको हावाका कारण खासगरी पारपाचुकेको सन्दर्भमा पुरुषहरू पीडित छन् भन्ने कुराको वकालत गर्दै आएका चितवनका केशवराज अर्यालले सर्वोच्चमा यही विषयमा दिएको रिट निवेदनका पक्षमा महिला र पुरुषलाई समान अधिकार दिन सरकारका नाममा परमादेश जारी भयो । सर्वोच्चको परमादेशपछि अर्याल अहिले चर्चामा छन् ।

यसैवर्ष बलिउडमा रमाइरहेकी मनीषा कोइरालाले चलचित्रमा अभिनय एवं विवाहका लागि नेपाल सम्भिmन भने जेनिशा मोक्तान दुई वर्षको अन्तरालपछि मिस नेपालको पगरी हात पार्न सफल भइन् । अन्त्यमा, २०४७ सालको संविधान र राजतन्त्रको पुनःस्थापनाको माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईसमेत वर्षको अन्ततिर चर्चामा आए । 

Source : Ekantipur.com

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY