Skip to main content

मातृऔंसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाखकृष्ण अमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिन मानिन्छ । यस दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । २०६७ सालमा यो पर्व १ गते नै परेकाले नववर्षका साथसाथै यो पर्व पनि मनाइनेछ । यस दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न टाढा-टाढाबाट आएर ढोगभेट गरी आ-आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाइन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महत्त्व कति छ हामीले व्यक्त गरिरहनुपर्दैन ।

आमा जन्म लिने बालकका लागि जगद्धात्री जगज्जननीको साकार स्वरूप हुन् । आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले हेर्छाैं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं ।

आमा हुनेहरू आमालाई मन पर्ने भोजन ख्वाएर एवं उपहारहरू दिएर यो पर्व मनाउँछन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ कुण्डमा कपाल मुण्डन एवं स्नानशुद्धिपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । त्यहाँ भएको ठूलो पोखरीमा भित्री हृदयले शुद्ध भएर हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सुसम्पन्न भै महासुख भोग गर्न पाउँछन् भनिन्छ ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादापुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो । 'माता गंगासमो तीर्थ पुस्कर पिता पुस्कर मे वचः' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो ।

त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख-कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । आफ्नै अङ्गको कुनै ठाउँमा चोट लाग्यो वा ठेस लाग्यो भने पनि 'ऐया आमा' शब्द निकाल्न पुग्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं । जननी जन्मभूमि हुन्, स्वर्गभन्दा पनि बढी, यो पंक्ति श्रीरामचन्द्रले लंका जितेपछि लक्ष्मणलाई सम्झाउँदै भनेका हुन् । हुन पनि हो, आमा र जन्मिएको धरती स्वर्गभन्दा पनि प्यारो हुन्छ । आमाको मन र ममताका विषयमा एउटा रोचक कथा ः

कुनै एउटी आमा आफ्नो छोरालाई असाध्यै माया गर्थिन् । रहँदा बस्दा छोरो ठूलो हुँदै गएछ र घरमा बुहारी पनि आइछ । बुहारीले उसलाई भिन्न बस्न बाध्य पारिछ । तैपनि छोरो बारम्बार आफ्नो आमालाई भेट्न गैरहन्थ्यो । ऊ आमालाई भेट्न गएको बुहारीलाई पटक्कै मन परेनछ । एक दिन उसकी स्वास्नीले उसलाई आमाको मुटु-कलेजो हातमा लिएर आउन जोड गरी । छोराले दुलहीको ढिपी टार्न सकेन । उसले त्यसै गर्‍यो । बाटो अँध्यारो थियो, जहाँबाट एउटा सानो वन छिचोलेर आउनुपथ्र्याे । त्यो मुटु कलेजोले भन्न थाल्यो- बाबु तँलाई चोट त लागेन ? त्यसपछि छोरो केही पनि बोल्न सकेन । यस्तो हुन्छ आमाको स्नेह । त्यसैले शास्त्रमा आमालाई पनि देवतासरह मानिएको छ- 'मातृदेवो भवः ।' आमालाई तीर्थका रूप पनि मानिएको छ ।

यसैले आमा हाम्री जननी हुन्, देवी हुन्  । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो-कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ ः 'कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति' । 

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY