Skip to main content

वर्ष २०६६ मा अस्ताएका व्यक्तित्वहरू

गिरिजाप्रसाद कोइराला

वर्षको अन्त्यमा नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्‍यो ।  लोकतन्त्र स्थापना एवं पुनःस्थापनाका लागि साढे छ दशक बिताएका संघर्षका नायक गिरिजाप्रसाद कोइरालाले ८६ वर्षको उमेरमा देह त्याग गरे । उनको निधनबाट संक्रमणकालबाट गुजि्ररहेको नेपालमा अब के हुने हो भन्ने चिन्ता बढेको छ । उनले दलगत स्वार्थबाट माथि उठेर गरेका कार्यहरू भावी पुस्ताका नेताहरूका लागि उदाहरण बनेका छन् ।

गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका महानायक एवं राजनैतिक क्षेत्रका अनुभवी अभिभावक थिए । उनको देहावसानले एक प्रकारको रिक्तता पैदा गरेको छ । उनी पदीय हिसाबले नेपाली कांग्रेसका सभापति थिए तर केही वर्षयता उनले देखाएको उदार व्यवहारबाट  उनी एक संस्थाकै रूपमा स्थापित भए । वर्तमान नेपाली राजनीतिमा उनीबराबरको छबि भएको दोस्रो नेताको अभाव छ । विपक्षीलाई पनि सँगै मिलाएर लान सक्ने  खुबीका कारण उनी जनतामाझ सदैव आशाका केन्द्र थिए ।

नेपाली समाजमा बाँचुन्जेल कसैलाई पर्याप्त सम्मान दिइँदैन । मृत्युपछि भने अनावश्यक ढङ्गले जानेसम्मका शब्दजलप लगाएर प्रशंसा गरिन्छ । कोइरालाको अवसानपछि पनि यस्तै प्रवृत्ति दोहोरिएको देख्न पाइयो । कोइरालामा पनि केही अवगुण पक्कै थिए । कुनै पनि मानिस गुणैगुणले सम्पन्न हुन सक्दैन । सबैमा केही न केही अवगुण हुन्छ । उनी बाँचुन्जेल विभिन्न हिसाबले उनलाई तल पारेर कुरा गर्नेहरू प्रशस्त भेटिन्थे । तिनै व्यक्तिहरू अवसानपछि प्रशंसा गर्नेमा एक नम्बरमा देखा परे । यस्तो प्रवृत्तिले कुनै पनि व्यक्तिको सही मूल्याङ्कन एवं कदर हुन सक्तैन । जे होस्, कोइरालाको अवसानले नेपाली राजनैतिक क्षेत्रमा अपुरणीय क्षति भने पुर्‍यायो ।

शैलजा आचार्य

नेपाली काङ्ग्रेसको राजनीतिबाट उदाएकी एवं पछिल्लो समयमा करिब-करिब राजनीतिक सहिद बनेकी शैलजा आचार्यले पनि जेठ महिनामा धर्तीबाट बिदा लिइन् । ६७ वर्षकै उमेरमा संसारबाट असामयिक बिदा लिएकी अविवाहित आचार्य नेपाली काङ्ग्रेसमा एक्ली बृहस्पतिका रूपमा चिनित्थिन् । बीपी कोइरालाबाट राजनीति सिकेकी शैलजा उनीबाट प्रशंसित थिइन् । मूल्य मान्यता एवं आदर्शको राजनीति गर्ने शैलजाले योगदानअनुरूप चर्चा पाउन सकिनन् । पदीय स्वार्थभन्दा माथि उठेर काम गर्न सक्ने शैलजा उदाहरणीय नेतृ थिइन् ।

महेन्द्र गोल्छा

वरिष्ठ उद्योगी महेन्द्र गोल्छाको ५३ वर्षको उमेरमै असामयिक निधन भयो । फोक्सोको क्यान्सरको उपचार गर्ने क्रममा मंसिर महिनामा उनले धर्तीबाट बिदा लिएका हुन् । पूर्वाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उनी विभिन्न संस्थासँग आबद्ध थिए । गोल्छा अर्गनाइजेसनमा आबद्ध रहेर व्यापार कार्यमा संलग्न उनी महेन्द्र गोल्छा समाजसेवी थिए । विभिन्न सामाजिक संस्थामा रहेर समाजसेवाको क्षेत्रमा उनले पुर्‍याएको योगदान सराहनीय छ ।

लक्ष्मणप्रसाद अर्याल

अन्तरिम संविधान २०६३ का संयोजक तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अर्यालको देहावसान असोज महिनामा ७२ वर्षको उमेरमा भयो । अदालतमा रहँदा तथा अन्तरिम संविधान निर्माण गर्ने बेलामा अर्यालले पुर्‍याएको योगदान विशिष्ट छ । कानुनका विशद् ज्ञाता अर्यालको योगदान सदैव स्मरणीय रहने छ ।

विष्णुलाल महर्जन

०६२/०६३ को जनआन्दोलनका जिउँदा सहिद विष्णुलाल महर्जनले पुस महिनामा भौतिक शरीरबाट बिदा लिए । १८ पुसमा देहत्याग गरेका महर्जनको १९ गते राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय झन्डा ओढाएका थिए । ०६३ को जनआन्दोलनमा उनले देखाएको बहादुरी प्रशंसनीय छ ।

जोगमेहर श्रेष्ठ 

मंसिर महिनामा राप्रपा उपाध्यक्ष जोगमेहर श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भयो । पिसाबमा समस्या देखिएकाले बी एन्ड बी अस्पतालमा उपचाररत अवस्थामै उनको निधन भएको हो । पञ्चायतकालमा पटक-पटक मन्त्री भएका श्रेष्ठ तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो हातमा सत्ता लिनुभन्दा पहिले माघ १९ अघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री भएका थिए । उनले लामो समय राजनीतिमा लागेर देशका लागि दिएको योगदान महत्त्वपूर्ण छ ।

सौभाग्यजंग शाह 

पुस महिनामा समाजशास्त्री सौभाग्यजंग शाहको ४८ वर्षकै उमेरमा असामयिक निधन भयो । समाजशास्त्रको गहिरो ज्ञान राख्ने शाहले अनेकौं पुस्तक पनि लेखेका छन् । उनले यसका अतिरिक्त नेपाली समाजका अनेकौं  अध्ययन गरेर राष्ट्रलाई गुन लगाएका छन् ।

नरेन्द्रमान सिंह

विदेशमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली नरेन्द्रमान सिंह मंसिर महिनामा अस्ताए । ५२ वर्षको उमेरमै जन्डिस लागेर असामयिक निधन बेहोरेका नरेन्द्रले आफ्नो कर्मथलो भारतको मुम्बईलाई बनाएका थिए । फुटबल खेलेर टेबहालमा घर किन्न सफल उनी नेपाली खेलकुद क्षेत्रका उदाहरण हुन् । सन् १९८२ को राष्ट्रिय टिमका खेलाडी सिंह स्ट्राइकर एवं प्लेमेकर थिए । संकटा क्लबलाई वि.संं. २०३५ सालमा त्रिभुवन च्यालेन्ज सिल्ड जिताउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो समयमा उनी प्रशिक्षकका रूपमा कार्यरत थिए ।

टेकबहादुर चोख्याल

नेपाली कांग्रेसका नेता टेकबहादुर चोख्यालले पनि ५९ वर्षमै जीवन छाडे । कांग्रेस राजनीतिमा लागेर देश र समाजका लागि काम गरेका चोख्यालको मंसिर महिनमा निधन भएको हो ।

वासु रिमाल ँयात्री’

पत्रकार एवं साहित्यकार वासु रिमाल यात्रीले साउन महिनामा ६९ वर्षकै उमेरमा देह त्याग गरे । उनी उच्च रक्तचापबाट पीडित थिए । निकै लामो समयसम्म राससमा कार्यरत यात्रीले प्रशस्त साहित्यिक पुस्तक निकालेका छन् ।

के. वी. शाही

पूर्व परराष्ट्रमन्त्री के. वी. शाहीको ७९ वर्षको उमेरमा असार महिनामा हृदयाघातबाट निधन भयो । उनी २०३६ देखि २०३८ सम्म नेपालका परराष्ट्रमन्त्री थिए ।

उमाकान्त हमाल

५८ वषर्ीय जोसिला नेता उमाकान्त हमाल हिंसाको राजनीतिका सिकार बने । नेपाली कांग्रेस हुम्लाका नेता एवं महासमिति सदस्य हमालको अपहरणपछि हत्या गरिएको थियो । विकट जिल्लाका जनताका पक्षमा कार्य गर्ने उनी नृशंस मृत्युवरण गर्न बाध्य भए । देश र जनताका पक्षमा लागेका हमालको योगदान हुम्लाका लागि वरदान साबित हुनसक्थ्यो तर उनको हत्या भएपछि राष्ट्रले यो 

अवसर पाउन सकेन ।
Source: ekantipur.com

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.