विमान दुर्घटनामा पोल्याण्डका राष्ट्रपति दम्पतीसहित ८० को मृत्यु


पोल्यान्डका राष्ट्रपति लेक कास्जिन्की दम्पतीको रुसमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। पोलिस तथा रुसी अधिकारीहरुले सो विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्।  बाक्लो कुहिरो लागेका बेला स्मोलेन्स्क विमानस्थल नजिकै सो विमान रुखमा ठोक्किन पुगेको थियो।
 
पोल्याण्डका सेना प्रमुख, केन्द्रीय ब्याङ्क गभर्नर, सांसदहरु तथा वरिष्ठ इतिहासकारसहित सो विमानमा ८० जनाभन्दा बढी सवार थिए। रुसका आपत्कालीन मन्त्रीका अनुसार सो विमान स्थानीय समयअनुसार करिब बिहान करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो।

'विमान अवतरण गर्ने तयारीमा थियो, पोलिस राष्ट्रपतिको विमान अवतरण गर्नुपर्ने क्षेत्रमा अवतरण भएन,' स्मोलेन्स्क क्षेत्रका गभर्नर सर्गेइ एन्तुफिभले भने- 'प्रारम्भिक विवरणअनुसार, यो रुखहरुको टुप्पामा ठोकियो र भुँइमा बजारिन पुग्यो, अनि टुक्राटुक्रा भयो। दुर्घटनामा परेका कोही पनि बाँचेनन्।

काटिन नरसंहारको स्मृति दिवस मनाउन उनीहरु पोल्याण्डको राजधानी वार्साबाट त्यसतर्फ गएका थिए। सत्तरी वर्षअघि त्यहाँ सोभियत सेनाले हजारौं पोलिसका हत्या गरेका थिए।

यो दुर्घटना पोलिस जनताका लागि ठूलो विपत्तिका रुपमा लिइएको छ। पोलिस प्रधान मन्त्री डोनाल्ड तुस्क त्यससम्बन्धी जानकारी गराउँदा रोएका थिए।
सो घटनापछि टुस्कले मन्त्रीहरुको आपत्कालीन बैठक बोलाएका छन्। पोल्याण्डमा प्रधान मन्त्री कार्यकारी हुने व्यवस्था छ। सरकारी प्रवक्ताले संविधानअनुसार निर्धारित समयभन्दा अघि राष्ट्रपतिको निर्वाचन हुने बताएका छन्। त्यस समयसम्म तल्लो सदनका सभामुख ब्रोनिस्ल कोमोरोव्स्की कार्यकारी राष्ट्रपतिको हुनेछन्।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय