Skip to main content

जल वायु परिवर्तनको असर

हिउँबिहीन हुदैछन् हिमालहरु
उत्तमबाबु श्रेष्ठ

·    जलवायु परिवर्तनले विश्वको कान्छो पर्वत शृंखला हिमालयलाई झनै असर पार्ने विभिन्न प्रतिवेदनले देखाएका छन्। संयुक्त राष्ट्रसंघीय निकाय जलवायु परिवर्तनसम्बन्धी अन्तरदेशीय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनअनुसार, पृथ्वीको तापमान अहिलेकै गतिमा बढिरहने हो भने स्न २०३५ सम्ममा हिमालयक्षेत्र पूरै हिउँविहीन हुनेछ। यस्तै इसिमोड र विश्व वन्यजन्तु कोषजस्ता संस्थाले विभिन्न समयमा गरेका अध्ययनले हिमालय क्षेत्रको जलवायु संवेदनशीलता र जलवायु परिवर्तनले यसक्षेत्रमा पर्ने असर उजागार गरिरहेका छन्।
हालै भारतीय वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले यसअघिका विभिन्न अनुमानभन्दा भिन्न तथ्यांक पेस गरेको छ। त्यसले यसक्षेत्रका हिमनदी पग्लने प्रक्रियामा नयाँ वैज्ञानिक विवाद सिर्जना गरेकोछ। छलफलका लागि भनिएको उक्त प्रतिवेदनमा हिमालय क्षेत्रका हिमनदी पग्लनुमा जलवायु परिवर्तन नै कारक हो भन्ने ठोस प्रमाण हालसम्म नभेटिएको उल्लेख गरिएको छ। भारतीय वातावरण मन्त्री जयराम रमेशका अनुसार, यस अध्ययनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी वर्तमान सूचनालाई चुनौती दिएको छ। यस प्रतिवेदनले आगामी डिसेम्वरमा हुने जलवायु परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलनमा प्रस्तुत हुने भारतीय अवधारणालाई कति प्रभावित पार्ने हो भन्ने चाहिँ स्पष्ट भएको छैन। तर, कोपेनहेगन सम्मेलनको मुखैमा आएको यो नयाँ प्रतिवेदन र त्यसप्रति उत्पन्न क्रियाप्रतिक्रियाले उक्त सम्मेलनमा हिमालय क्षेत्रका साझा समस्या उठाइने भन्दापनि आरोप प्रत्यारोपमा सीमित हुने आशंका बढेकोछ।
भारतीय भौगर्भिक विभागका पूर्वप्रमुख भिके रैनाद्वारा लिखित ६० पृष्ठ लामो 'हिमालय क्षेत्रका हिमनदी' भन्ने शीर्षकको उक्त प्रतिवेदनअनुसार हिमालय क्षेत्रका हिमनदी फैलने र खुम्चिने क्रम हालै सुरु भएको नभई २० हजार वर्षदेखि नै कायम छ। विभिन्न कालखण्डमा यहाँका हिमनदी फैलने र संकुचन हुने क्रम जारी छ र अहिले पनि यो अरूले भनेजस्तो असाधारणरूपमा संकुचित भइरहेको छैन। प्रतिवेदनमा उदारहणस्वरूप गंगानदीको मुहान गंगोत्री हिमनदी सबैभन्दा बढी संकुचन सन् १९७७ मा भएको (जतिवेला जलवायु परिवर्तनको कुरा नै उठेको थिएन) र अहिले त्यो आफ्नै गतिमा घटिरहेको छ उल्लेख छ। यसअघि विभिन्न प्रतिवेदनमा जलवायु परिवर्तनको कारण गंगानदी सुक्ने र करोडौं मानिस त्यसवाट प्रभावित हुने खतरा औँलाइएको थियो। त्यस्तै सोनापानी हिमनदी विगत सय वर्षमा ५ सय मीटर घटेको थियो भने काँग्रीज हिमनदीमा कुनै परिवर्तन देखिएको छैन। अहिले पनि सिइचेन हिमनदी बढिरहेको छ।
प्रतिवेदनअनुसार यो साँधुरिने वा फैलने क्रिया जलवायु परिवर्तनले मात्रै हुने साधारण काम होइन, विभिन्न स्थानीय र वाह्य परिघटनाको संमिश्रणले यसमा काम गरेको हुन्छ।
प्रसिद्ध हिमनदी विशेषज्ञ रैनाका यस्ता अभिमत यसअघि पनि विभिन्न जर्नलमार्फत् सार्वजनिक भएको थियो। तर वातावरण मन्त्रालयमार्फत सोमवार प्रकाशित प्रतिवेदनले भने विश्वको ध्यान तानेको छ। उक्त प्रतिवेदनमा प्रारम्भिक टिप्पणी गर्दै आईपीसीसीका प्रमुख राजेन्द्र पचुरीले प्रतिवेदनमा निकै कम वैज्ञानिक सर्न्दभसामग्री समेटिएको र सम्बन्धित विशेषज्ञले त्यसको सत्यता नजाँचेका बताएका छन्। तर रैना भने पश्चिमा वैज्ञानिकले विश्वका अन्य भागमा भैरहेको हिमनदी सुक्ने गतिलाई हिमालय क्षेत्रमा प्रयोगगरी पुर्वानुमान गरिरहेकाले त्यो अस्वाभाविक हो भन्छन्। जबसम्म यस क्षेत्रमा मनसुन रहिरहन्छ तबसम्म हाम्रा हिमनदी सक्तैनन्। थोरै भूभागमा उचाइमा धेरै विविधता भएको हिमालय पर्वतमाला अन्य क्षेत्रभन्दा विषेश प्रकारको छ। उनको यस धारणा नेपालका हिमनदीमा अध्ययन गरिरहेका अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक रिर्चड आर्मस्ट्रंगसँग मिल्न खोज्दछ।
कोपेनहेगन सम्मेलनमा प्रस्तुत गर्न दक्षिण एसियाली क्षेत्रको साझा अवधारणा बनाउन गत अगष्टमा काठमाडौंमा आयोजित 'काठमाडौंदेखि कोपेनहेगेनसम्म'सम्मेलन, प्राध्यापक रिर्चड आर्मस्ट्रँगले त्यस्तै अवधारणा प्रस्तुत गरेका थिए। उनका अनुसार जलवायु परिवर्तनले हिमालय क्षेत्रका हिमनदीमा पार्ने प्रभावसम्बन्धी अहिलेका निष्कर्ष एकदमै कम तथ्यांकका आधारमा निकालिएको हो। तिनले सम्पूर्ण हिमालय क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैनन्। हिमालय क्षेत्रको भौगलिक अवस्था विश्वका अन्य भागभन्दा निकै फरक छ। उनका अनुसार हिमालयक्षेत्र सन् २०३५ सम्ममा पाँचलाखबाट एकलाख वर्ग किलोमिटरमा साँधुरिने भन्ने विश्व वन्यजन्तु कोषले सन् २००५ मा गरेको अनुमान गलत छ। किनभने अहिले हिमालय क्षेत्रको कुल हिमनदीको क्षेत्रफल एकलाख वर्गकिलोमिटरभन्दा पनि कम छ।
उक्त प्रतिवेदनले प्रस्तुत गरेका तथ्य सत्यको नजिक भएमा पनि हिमालय क्षेत्रको जलसम्पदा यसक्षेत्रमा मनसुन रहँदासम्म नसुक्ने र हिमनदी अन्य पूर्वानुमान जति चाँडो गतिमा नपग्लिने मात्रै हो। इसिमोडले नेपालको हिमालय क्षेत्रमा गरेको अध्ययनले पनि २० वटा हिमनदी फुट्नसक्ने औल्याएको थियो। उक्त प्रतिवेदनमै पनि जलवायु परिवर्तनकै कारण हो भनेर ठोकुवा नगरिए पनि धेरैजसा हिमनदी पग्लिरहेको उल्लेख गरिएको छ। उक्त प्रतिवेदनले जलवायु परिवर्तनको हिमनदीबाहेक अन्यत्र परिरहेको असरका बारेमा खासै उल्लेख गरेको छैन। नेपालको सर्न्दभमा भन्ने हो भने जलवायु परिवर्तनका असर वन, कृषी र पशुपालनलगायत यहाँको वातावरणीय प्रणालीमा पनि परेको देखिन थालेको छ।
विगत केही वर्ष यता नेपालमा वर्षेनि ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। जाडो याम छोटिन थालेको छ भने वसन्त ऋतु चाँडै सुरु हुन थालेको छ। आकाशे पानी पर्ने समयमा फेरबदल भइरहेको छ। कुनै ठाँउमा सुख्खा त कुनैमा अतिवृष्टि भइरहेको छ। हावापानीमा भएको यस्तो परिवर्तनले वातावरणीय प्रणालीमा पारेको असरका बारेमा हामीसँग तथ्यांक र विस्तृत अध्ययन नभए पनि समुदायको ज्ञानमा आधारित अध्ययनबाट विभिन्न असर पर्नथालेको देखिएको छ। फूलहरू बेलै नभई फुल्न थालेका छन्। उच्च पहाडी भेगका बुट्यान बढी उचाइतिर फैलँदै गइरहेका छन्,। उच्च पहाडी भेगमा लामखुट्टे देखापर्न थालेको छ। बालीनालीमा नयाँ झार, रोग र कीरा देखापर्न थालेको छ। चराहरूले समय अगाडि नै बच्चा काड्न थालेका छन्। कतिपय ठाँउमा नयाँ प्रजातिका विरुवा देखापर्न थालेका छन्, जुन विश्वका अन्य भागमा पनि देखिएका छन्।
अन्त्यमा, हिमालय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट साँच्चै जोगाउने हो भने यसक्षेत्रका मुलुक विशेषगरी नेपाल, भारत र चीनको सहकार्य हुनु जरुरी छ। चीन र भारत विश्वमा महाशक्तिको रूपमा उदाँउदै गएका छन्। उक्त दुई देशको जनसंख्या विश्व जनसंख्याको दुईतिहाइभन्दा बढी छ र उनीहरू विश्व जलवायु परिवर्तनको कारक मानिएको हरितगृह ग्याँस उर्त्सजन गर्ने प्रमुख राष्ट्र हुन्। उनीहरूको आवाज विश्व रंगमंचमा विषेशगरी कोपेनहेगन सम्मेलनमा प्रभावकारी हुने निश्चित् छ। त्यसकारण भारतीयहरूले उक्त प्रतिवेदनलाई आधार मानेर कोपेनहेगन सम्मेलनमा आफ्नो हरितगृह ग्याँस उर्त्सजन नघटाउने अडान राखे भने हिमालय जोगाउन नेपालले थाल्न लागेको अभियान ओझेलमा पर्न सक्छ। सम्मेलनको मुखैमा भारतीय वातावरण मन्त्रीको विषेश अनुरोधमा ल्याइएको नैना प्रतिवेदन आफैँमा शंकाको घेराभित्र छ। त्यसकारण नेपालले यस क्षेत्रमा जलवायु परिवर्तनसँग जुघ्न 'लबिंग' र अन्य तयारी नगर्ने हो भने कोपेनहेगन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिविहीन पनि हुनसक्छ।
(लेखक अमेरिकाको हावर्ड विश्वविद्यालयका रिसर्च एसोसिएट हुन्।)
SOURCE:- नागरिक राष्टिय दैनिक 2066.08.27

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY