रामचन्द्र भट्ट, काठमाडौं, जेठ २९ - मोबाइल सेट किन्ने योजनामा हुनुहुन्छ? सस्तो पाइयो भन्दैमा बजारमा जथाभावी बिक्री भइरहेका र मापदण्ड नपुगेका सेट नकिन्नुहोला। नत्र, तनहुँमा जस्तै मोबाइल पड्किएर दुर्घटनाको सिकार हुन के बेर? पछिल्लो समय मोबाइल सेट पड्किने घटना बढिरहेका छन्। यसबाट मानवीय क्षतिसमेत भएको छ। त्यसमा पनि नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' र बिक्री गर्ने स्वीकृति नलिइएको स्काई ब्रान्डका सेट पड्किएका छन्। प्राधिकरण इन्जिनियरिङ शाखाका उपनिर्देशक कविन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा मोबाइल सेट बेच्न नोकियाका ७३ मोडल, एलजीका ३२ मोडल, कोन्काका ७, भिकलका ७, जेडटिईका दुई, सिजी, ब्ल्याकबेरी, बर्ड, एचपीका एक/एक मोडलले मात्र स्वीकृति लिएका छन्। प्राधिकरणमा दर्ता गरेर स्वीकृति लिएका सेटमात्र बेच्न पाउने प्रावधान छ। मापदण्ड नपुगेका र तोकिएको सुरक्षा प्रावधान नभएका मोबाइल सेटले प्राधिकरणबाट टाइप एप्रुभल पाउँदैनन्। प्राधिकरणले दुई वर्षदेखि नेपालमा बेच्न ल्याइने सेट अनिवार्य रूपमा दर्ता गरेर टाइप एप्रुभल लिनुपर्ने व्यवस्था गरेको छ। तर, नियमन प्रभावकारी नहुँदा दर्ता न...